
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा सहयोग गरेको छ ।
बैंकले शिक्षालाई प्रोत्साहन दिँदै सुदूरपश्चिम प्रदेशको डोटीमा रहेको बटालागाउँ, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ स्थित श्री नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्रछात्राहरूलाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।
यस कार्यक्रमले विद्यार्थीमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले कर्णाली प्रदेश वीरेन्द्रनगर- ४, सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोग स्वरूप १० थान व्हिलचियर प्रदान गरिएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यसबाट स्वास्थ्य सेवा लिन आउने बिरामी र जेष्ठ नागरिकलाई सहज हुने अपेक्षा बैंकको छ ।
साथै, कोशी प्रदेशस्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उद्देश्यले ७ थान तीन सिटर कुर्सी हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस बाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रमा निरन्तर सकारात्मक योगदान पुराउँदै आइरहेको छ । आगामी दिनमा समेत यस किसिमका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकको छ ।