३० जेठ २०८३, शनिबार

स्वास्थ्य बीमा : एकल महिलाको शतप्रतिशत र अन्यको ४० प्रतिशत प्रिमियम महानगरले तिरिदिने

असार १८, २०८२
ललितपुर
स्वास्थ्य बीमा : एकल महिलाको शतप्रतिशत र अन्यको ४० प्रतिशत प्रिमियम महानगरले तिरिदिने

ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ ।  ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारी भएको हो । पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले हस्ताक्षर गरेका छन् ।

यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारी चालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टीएचपी)को भने शतप्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो ।

कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो । 

ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट शुरू गरेको हो । यल स्वास्थ्य केन्द्रमार्फत बीमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । उनले भने, ‘महानगरले महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो ।’ कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको बताए ।​

कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख बताए । पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिका लागि समेत महानगरले सहयोग थियो । उनले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको समेत उनले जानकारी दिए ।

महानगर प्रवक्ता राजु महर्जनले महानगरवासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्त्वपूर्ण निर्णय भएको बताए । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाइमा सँगै भएको बताए । 

राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए । उनले भने, ‘यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीय काम हो ।’

विभिन्न क्षेत्रमा बीमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताए । बीमा कार्यक्रम निम्न वर्गका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।

बीमा कार्यक्रमका थुप्रै आरोह अवरोह रहेको बताउँदै उनले त्यसलाई पन्छाउँदै अघि बढेको प्रष्ट पारे । एक सय पाँच भन्दा बढी मुलुकको स्वास्थ्य बीमाको मोडलबारे छलफल भएर लागू गरेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्