०४ साउन २०८३, सोमबार

एएफसी महिला एसियन कप छनोट : साम्बाको ह्याट्रिकमा नेपालको फराकिलो जीत

असार १८, २०८२
काठमाडौं
एएफसी महिला एसियन कप छनोट : साम्बाको ह्याट्रिकमा नेपालको फराकिलो जीत

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

उज्बेकिस्तानमा जारी उक्त प्रतियोगिताको बुधबारको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोलको फराकिलो अन्तरले हराएको हो ।

खेलको प्रारम्भदेखि नै नेपालले श्रीलंकालाई दबाबमा राखेको थियो । खेलको पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा पनि चार गोल थपेको थियो । नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरिन् । उनले निर्धारित समयको २०औं, ४२औं र ४५औं मिनेटमा गोल गरिन् ।

नेपाली टोलीको जीतमा गीता रानाले पनि दुई गोलको योगदान गरिन् । उनले निर्धारित समयको नवौं र ५४औं मिनेटमा गोल गरेकी हुन् । निशा थोकरले ६२औं, रेखा पौडेलले ७८औं र पूजा रानाले ८९औं मिनेटमा एक/एक गोल गरे ।  

खेलमा पहिलो गोल गीताले गरेकी थिइन् । त्यसपछि साम्बाले लगातार तीन गोल गरेपछि नेपाल पहिलो हाफमै ४–० ले अगाडि बढेको थियो । दोस्रो हाफको खेल शुरू भएलगत्तै नेपालले पेनाल्टी प्रहारको अवसर पायो । सोही अवसरको सदुपयोग गर्दै गीताले अर्को गोल थपिन् । त्यसपछि नेपाली टोलीका लागि अर्को गोल निशाले गरिन् । 

त्यसको केही समयपछि नै रेखा पौडेलले नेपालका लागि सातौं गोल थपेकी थिइन् । परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेलगत्तै उनले गोल गरेकी हुन् । नेपालका लागि आठौं गोल पूजा रानाले गरेकी हुन् । उनी पनि परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेकी थिइन् ।

नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिकामा साम्बाको यो दोस्रो खेल हो । जारी प्रतियोगितामा कप्तान साम्बाले गरेको यो लगातार दोस्रो ह्याट्रिक पनि हो । आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो । त्यो खेलमा पनि साम्बाले ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । 

जारी प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपाल र श्रीलंकाका अतिरिक्त आयोजक उज्बेकिस्तान र लाओस पनि छन् । समूह विजेता बन्ने टोली अर्को वर्ष आयोजना हुने एएफसी एसियन कपमा छनोट हुनेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल आगामी शनिबार आयोजक उज्बेकिस्तानसँग खेल्नेछ । त्यो खेल नेपाल र उज्बेकिस्तान दुवैका लागि महत्त्वपूर्ण हुनेछ ।

श्रीलंकाविरुद्धको खेल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीले खेलेको १०१औं खेल हो । नेपाली महिला टोलीले सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । 

श्रीलंकाविरुद्धको खेल नेपाली महिला टोलीका विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डको दोस्रो खेल हो । नेपाली टोलीको प्रशिक्षकको भूमिकामा प्याट्रिकले पनि लगातार दोस्रो सफलता हात पारेका हुन् । त्यसैले उनका लागि पनि यो सुखद नतिजा हो । 

समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली सन् २०२६ को एएफसी महिला एसियन कपमा छनोट हुनेछ । एएफसी महिला एसियन कपको २१औं सँस्करण सन् २०२६ को मार्च १ देखि २१ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुनेछ । 

महिला एसियन कप सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपको १०औं संस्करणका लागि छनोट प्रतियोगिता पनि हो । यसपटक महिला एसियन कपलाई सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने गृष्मकालीन ओलम्पिकका लागि पनि छनोट प्रतियोगिताका रूपमा लिइएको छ । 
एसियन कपको क्वार्टरफाइनलमा पुग्ने आठ टोलीले आगामी ओलम्पिकका लागि महिला फुटबलको एसियाली क्षेत्रको छनोट चरणमा स्थान बनाउने छन् । त्यसैले पनि यो प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण छ । 

नेपालले हालसम्म तीनपटक एएफसी एसियन कपको फाइनल चरण खेलेको छ । नेपालले पछिल्लो पटक २७ वर्षअघि महिला एसियन कपको फाइनल चरण खेलेको थियो । छनोट चरण पार गरेर भने हालसम्म नेपाली टोलीले एसियन कपको फाइनल चरण खेलेको छैन । 

नेपाली टोलीले सन् १९८६ मा पहिलो पटक एएफसी महिला एसियन कपको फाइनल चरण खेलेको थियो । त्यसपछि नेपाली टोलीले सन् १९८९ मा आयोजित महिला एसियन कपको सातौं सँस्करण पनि खेलेको थियो । नेपाली टोलीले सन् १९९९ मा फिलिपिन्समा आयोजित महिला एसियन कपको फाइनल चरण पनि खेलेको थियो । 

यसपटक, एएफसी एसियन कपको छनोट चरणमा सहभागी ३४ वटा टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट एक–एक टोली अन्तिम चरणको प्रतियोगिताका लागि छनोट हुने प्रवधान रहेको छ । हालसम्म चारवटा टोली फाइनल चरणमा पुगिसकेका छन् । 

अस्ट्रेलियाले आयोजकका रूपमा फाइनल चरण खेल्ने अवसर पाएको हो भने चीन अघिल्लो संस्करणको विजेता, दक्षिण कोरिया उपविजेता र जापान तेस्रो स्थान हासिल गर्ने टोलीका रूपमा यसपटक फाइनल चरणमा पुगेका हुन् । बाँकी आठ टोलीको टुंगो भने छनोट प्रतियोगितापछि लाग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्