
जगदम्बा स्टिलको भट्टीमा विस्फोट हुँदा १ जना घाइते भएका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलको भट्टीमा बुधबार राति ९ बजेको समयमा विस्फोट हुँदा १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा डीएसपी विजयराज पण्डितका अनुसार भट्टीमा हिट बढी भएर विस्फोट भएको हो । 'भट्टीमा हिट बढी भएर विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,' उनले भने, 'एक जना सामान्य घाइते भएका छन् । ठूलो क्षति केही भएको छैन ।'
घाइते भएका भारतीय नागरिकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
उनका अनुसार विस्फोटपछि आगलागी पनि भएको थियो । उक्त आगो केही बेरमा नै नियन्त्रणमा आएको डीएसपी पण्डितले जानकारी दिए ।
विस्फोटमा मानवीय क्षतिको आशंका गर्दै आक्रोशित बनेका स्थानीयले उद्योग परिसर घेराउ गरेका छन् ।
उद्योगको बाहिर एम्बुलेन्स र दमकल समेत तयारी अवस्थामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।