
नेकपा एमालेको नवौं महाधिवेशन २०७१ सालको असारमा , काठमाडौंमा भयो । रोपाइँको व्यस्त समय थियो । कुलो खन्न जानु पहिले बा कोदाली समातेर आँगनमा रेडियो सुन्न थाल्लुभो । म पनि छेउमै थिएँ।
समाचार सुनियो- अध्यक्षमा ओली निर्वाचित ।
यही ओली नेतृत्वको कमिटीको उपमहासचिवमा निर्वाचित भए, अहिलेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अहिले नेकपा एसका महासचिव घनश्याम भुसाल । पौडेल ओली टिमबाट, भुसाल माधव टिमबाट ।
संयोग के छ भने अहिले नेपालका प्रमुख तीन कम्युनिस्ट पार्टीका शक्तिशाली तीन महासचिव, एमालेका शंकर पोखरेल, माओवादीका देव गुरूङ र नेकपा एसका घनश्याम भुसाल तीनै जनाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचन हारेका छन् । र, तीनै जना पार्टीका कार्यकर्ताबाट अनुमोदित होइनन् । अध्यक्षले नियुक्त दिएका ‘सर्वसम्मत’ हुन् । अर्थात् न जनताले पत्याएका, न कार्यकर्ताले नै ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नवौं महाधिवेशनमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेलसँग उपमहासचिव हारे ।
त्यतिबेला घनश्याम भुसाल उपमहासचिव जित्दा म एक बित्ता उफ्रिएको थिएँ । पार्टीभित्र र बाहिर सबैतिर, यत्रतत्र सर्वत्र बौद्धिक र विद्वान कहलिएका एक जना नेताले उपमहासचिव जित्नु कम्ता खुसीको कुरा थिएन । बहुत मज्जा आएको थियो ।अहिले मलाई ‘खसीको मासु’ खाँदा जुन मज्जा आउँछ हो त्यस्तै मज्जा आथ्यो ।
कालान्तरमा ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र’ मिलेर ‘नेकपा’ बन्यो । त्यो नेकपा कम ‘डबल नेकपा’ बढी थियो । कार्यकर्ताको मिलन कम , दुई अध्यक्ष ‘ओली र दाहाल‘को स्वार्थको फ्युजन बढी थियो । यो कुरा आज बोल्न अब कुनै आइतबार कुर्नै पर्दैन । जे थियो, बित्यो । सकियो । भत्कियो ।
नेकपा विवादमा घनश्याम भुसाल लगातार ओलीमाथि ‘प्रेसर कुकर बम’ भइराखे । हरेक केन्द्रीय कमिटीको बैकठमा ओलीको अगाडि पड्किरहे पड्किरहे । तर, त्यो बमलाई ‘गैँडाको छाला’ भएका ओलीलाई कतै छोएन ।
यसैक्रममा नेकपा विवाद चलेकै बेला तत्कालीन पार्टी कार्यालय धुमबाराहीमा बैठक बस्यो । घनश्याम भुसालले त्यो बैठकमा भने ‘ओली यति धेरै गुटिए छन् कि आफ्नो गुटको, आफ्नो वरिपरिको मान्छे हो कि हैन, खकार चेक गर्छन् , थुक चेक गर्छन्, डीएनए टेष्ट गर्छन् । अनि मात्रै जिम्मेवारी दिन्छन् । अनि मात्रै काम दिन्छन् ।’
यो ‘आलोचना’ यति भाइरल भयो कि त्यतिबेलाका हरेक पत्रिका र डिजिटल मिडियामा यो ‘हाइलाइटेड् टपिक’ भयो । तात्तातो खबर भयो । किनकि त्यो समयमा ओली बहुत आलोचित बनाइएका थिए ।
कोरोनाकाल थियो । खकार, थुक, सिँगान टेष्ट गर्ने बेला घनश्याम भुसालले गरेको ‘खकार टेष्ट’ भाषण , ‘भाइरस भाइरल’ भइरहेकै बेला ‘भाइरल’ भयो ।
त्यतिखेर ओलीप्रति त्यो तहको भाषण गर्ने घनश्याम भुसालले नेकपा एसको निवर्तमान महाधिवेशनमा आफ्नो पक्षधर नभएकै कारण ‘सडकको बाघ’ उपमा पाएकी नेतृ रामकुमारी झाँक्रीलाई चिट बाँडेर हराए । हराउन कम्मर कसेर लागे । हराए पनि ।
आज म घनश्याम भुसाललाई सोध्छु- को गुटिए रहेछ ?
‘ओलीले विपक्षीलाई विनाकारण कारबाही गर्छन्, पार्टीको आन्तरिक लोकतन्त्र मर्यो, पार्टीको चीर हरण भयो’ भन्दै घाँटीको नसो उफार्ने घनश्याम भुसालले पार्टी अध्यक्ष माधव नेपालमाथि टिप्पणी गरेकै कारण ‘रामकुमारी झाँक्री’लाई कारबाहीका लागि स्पष्टीकरण माग गरेका छन् ।
स्मरण होस्- पार्टी स्थापना गर्न निर्वाचन आयोग जान डराएका, कामेका माधव नेपाललाई हात समातेर, डोर्याएर पार्टी स्थापना गर्नेमध्येकी एक संस्थापक झाँक्री नै थिइन् । घनश्याम भुसाल त पछि पार्टीमा आएका ‘आयातित’ हुन् । समय आज यस्तो आयो आयातितले संस्थापकलाई पार्टीबाट धपाउँदैछन् ।
कतिसम्म भने, नेकपा एसले पार्टी अध्यक्ष नेपाल र पतञ्जली जग्गा प्रकरणबारे नबोल्न उर्दी जारी गर्यो । सर्कुलर जारी गर्यो ।
त्यो सर्कुलर जारी गर्ने, सर्कुलरमा हस्ताक्षर गर्ने, उर्दी जारी गर्ने अरू कोही होइन, उनै घनश्याम भुसाल हुन् । जो हिजो एमालेमा रहँदा भन्थे- ‘अध्यक्षबारे बोल्न पाइँदैन ? किन बोल्न पाइँदैन ? लोकतन्त्रमा आलोचना र टिप्पणी सामान्य हुन् ।’
सर्कुलरमा हस्ताक्षर गर्दा घनश्यामलाई अलिकति पनि लाज लागेन ? अलिकति घिन लागेन ? नैतिकताको ख्याल खोई ?
हुन त नेपालका नेतामा नैतिकता खोज्नु र ‘गोल्डेन गेट’ कलेजमा सुनको गेट खोज्नु एकै हो । पाइँदैन । नो चान्स । यस्तो लाग्छ- नेपालका नेताको नैतिकता सानोमा नुहाउँदा साबुनसँगै पग्लेर गइसकेको छ ।
तत्कालीन ‘डबल नेकपा’ टुक्रेर ‘चार टुक्रा’ भयो ।
-ओली नेतृत्वको नेकपा एमाले
-प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र
-माधव नेपाल नेतृत्वको नेकपा एस
-वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान
घनश्याम भुसाल ‘दश बुँदे चिर्कटो’मार्फत् उही ओलीकै छायाँमुनि ओत लाग्न पुगे । यतिञ्जेल घनश्याम भुसालका भाषण सुन्दा, यस्तो लाग्थ्यो- घनश्याम भुसालको घरको भित्तामा माउसुली आयो भने पनि त्यो ओलीको षडयन्त्र र ओलीकै कारण आएको हुन सक्छ ।
एमालेको ‘सौराहा महाधिवेशन’ भयो । चुनाव भयो । उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल ‘लाज पनि लजाउने गरी’ हारे । फेरि घनश्याम भुसाल भनिरहे- त्यो एमाले महाधिवेशन कम , ‘सौराह काण्ड’ बढी थियो । तलका प्रतिनिधि सबै ओलीले आफ्नो खल्तीबाट ल्याए अनि म कसरी जित्नु ? एमालेको विधान विपरीतको महाधिवेशन हो त्यो । जहाँ कुनै विधि छैन, ‘सोलिड सिद्धान्त’ छैन । त्यस्तो पनि महाधिवेशन हुन्छ ? त्यो त ओलीको कर्मकाण्ड हो ।
एमालेको उपाध्यक्ष हार्दा यस्तो भन्ने घनश्याम भुसाल । नेकपा एसको महाधिवेशनमा के भन्छन् त ?
नेकपा एसको महाधिवेशनका लागि काठमाडौं आएका महाधिवेशन प्रतिनिधि सबैलाई घर पठाइयो । त्यसपछि दुईटा टाउका अध्यक्ष माधव नेपाल र महासचिव भुसाल मिलेर केन्द्रीय सदस्य मनोनयन गरे । केन्द्रीय कमिटी उनकै भाषामा भन्दा ‘खल्तीबाट ल्याइयो ।’
जम्बो केन्द्रीय कमिटीमा खल्तीका मान्छे ल्याए । आ-आफ्नो स्वार्थ अनुसार माधव र घनश्याम चले । बल्ल तीनै मनोनीत केन्द्रीय सदस्य (जो खल्तीका मान्छे हुन् तिनीहरूबाट)बाट पदाधिकारीको चुनाव गराए ।
सोच्नुहोस् त- कुनै कम्युनिस्ट पार्टीको महाधिवेशन यस्तै हुन्छ ? जहाँ महाधिवेशन प्रतिनिधिलाई घर पठाइन्छ । केन्द्रीय कमिटी मनोनीत गरिन्छ । अनि, पदाधिकारीको चुनाव हुन्छ । विधि विधानमा भएको महाधिवेशन यस्तै हुन्छ- जहाँ महाधिवेशन प्रतिनिधिलाई भोट हाल्ने अधिकार छैन ।
यस्तो महाधिवेशनलाई उनै घनश्याम भन्छन्- ‘महाधिवेशन एकदमै सफल भयो । एकदमै सौहार्दपूर्ण भयो । विधि, विधान र सिद्धान्तमा टेकेर महाधिवेशन सम्पन्न भयो ।’
सोध्न मन लागेको छ- कुन घनश्याम भुसाल सक्कली कुन नक्कली ? कुन सक्कली कुन फोटोकपी ?
गत निर्वाचनमा घनश्याम भुसालले एमालेको टिकट पाएनन् । प्राय: सबै चुनावमा टिकट पाएका घनश्याम भुसालले त्यही एउटा निर्वाचनमा टिकट पाएनन् । घनश्यामले पाएनन् भन्दा पनि ओलीले दिएनन् भन्दा बढी सान्दर्भिक हुन्छ ।
घनश्याम भुसाल ओलीप्रति झन् आगो भए । ढोकाको चेपमा औँला च्यापिँदा जस्तो पीडा हुन्छ, घनश्याम भुसाललाई त्यो भन्दा धेरै पीडा भयो । फुत्त पार्टीबाट निस्के । स्वतन्त्र हुन्छु भनेर फेसबुक स्टाटस लेखे । ‘तावाबाट उम्केर भुङ्ग्रो’मा भनेझैं भयो ।
रूपन्देहीमा स्वतन्त्र उठे । उनलाई तत्कालीन ‘डबल नेकपा’का दुई टुक्रा दाहालको माओवादी केन्द्र , माधव नेपालको पसल नेकपा एस, ‘देउवा आरजुको नेपाली काङ्ग्रेस’ लगायत तत्कालीन ‘सत्ता गठबन्धन पार्टी’ले समर्थन गरे । एमालेका छविलाल विश्वकर्मालाई चुनावमै ‘डरलाग्दो घेराबन्दी’ गरे ।
त्यत्रो पार्टीको समर्थन पाएका घनश्याम भुसाल, छविलाल विश्वकर्मासँग ‘ब्यालेट बक्स’मार्फत ‘वर्षाको भ्यागुतो’ले जस्तो चुटाइ खाए ।
चुनाव हुनुभन्दा दुई/चार दिनअघि एउटा अन्तर्वार्तामा घनश्याम भुसालले भनेका थिए- ‘मलाई रूपन्देहीका जनताले चुनावमा जिताए भने नेपाली जनताले बुझे हुन्छ कि ओलीको प्रालिबाट म निस्कनु ठीक थियो । नेकपा एमालेबाट मैले गरेको मेरो विद्रोह ठीक थियो । म ठीक थिएँ । यदि रूपन्देहीका जनताले मलाई चुपावमा हराए भने मेरो विद्रोह गलत थियो । म गलत थिएँ ।’
आज घनश्याम भुसाललाई म सोध्छु- एमालेबाट तपाईंले गरेको विद्रोह ठीक थियो कि गलत कमरेड ?
२०७४ को चुनावपछि ओलीले उनै कट्टर आलोचक घनश्याम भुसाललाई जब्बर जिम्मेवारीको टोपी लाइदिएका थिए । त्यो थियो- आफ्नै नेतृत्वको मन्त्रिपरिषद्को कृषिमन्त्री ।
एउटा जब्बर विद्वान नेता कृषिमन्त्री हुँदा देशको कृषि प्रणाली नै कोल्टे फेर्छ होला । कृषिमा केही त नयाँ होला भन्ठानियो । आशामा बसियो ।
भयो । नयाँ नै भयो । त्यो हो- सिंहदरबारको कृषि मन्त्रालयमा घनश्याम भुसालको एकथान फोटो झुण्डियो । उनको कार्यकालको यो नै मुख्य उपलब्धि हो । नयाँ नै यही हो ।
उनकै कार्यकालमा समाजमा कोरोना जस्तै कृषिमा पनि ‘कोरोना’ आयो । त्यो थियो- ‘सलह किरा’ कीराको प्रकोप । सलह कीरा थपाउन उनले भने- थाल थटाएर भगाउनुपर्छ । उनले ‘सलह किरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको गर्वसाथ सुनाए ।
राम राम- ‘बाह्र वर्ष समाजवाद पढायो, माधव नेपालको पार्टी कुन हो ?’ भने जस्तै ।
उनकै कार्यालयमा सबभन्दा बढी मलको अभाव भयो । किसानहरूको आन्दोलन भयो । जे जे नहुनु थियो, उनको कार्यालयमा त्यही त्यही भयो ।
आज पनि एमालेका कार्यकर्ता उनलाई ‘मल मन्त्री’, ‘मलश्याम भुसाल’ भन्छन् ।
म चाहिँ आदरणीय नेतालाई एउटै कुरा भन्छु- आदरणीय कमरेड विद्वान भन्दा पहिले ‘बी म्यान’ ! विद्वान भन्दा पहिले मान्छे बन्नोस् ।