
मान्छेहरूलाई थाहै नहुँदो रहेछ
अलिकति शंका पनि नहुँदो रहेछ
कि प्रत्येक मान्छेको आमने–सामने
मृत्यु संघारमा तेर्सिएको हुन्छ
मृत्युसँग पराजित भएरै पनि मान्छे
धरतीमा ठेलाठेल मच्चाई बस्छ
हिजो बेलुकी भविष्यको योजना बुनेको मान्छे
बिहान हुँदा निर्जीव प्राय: शून्य लडेको हुन्छ
कि भोलिबाट नयाँ जिन्दगी शुरूआत हुनेछ
उत्साह लिएर कम्मर कसेको मान्छे
भोलिबाट मृत्युको मुखमा पछारिएको हुन्छ ।
आकाशलाई थाहा नहुन सक्छ
के गर्दैछन् मान्छेहरू ?
एक हुल पूर्व मोडिन्छन्
एक हुल पश्चिम छोडिन्छन्
उपल्लो हुल उत्तर ताक्छन्
उतल्लो हुल दक्षिण भासिन्छन्
बिचमा एउटा खाडल छ
घुम्दै मान्छेहरू
त्यही खाडलमा गर्ल्याम्म ढल्छन् ।
यसरी मान्छेहरू अनभिज्ञ छन्
कि कसरी शुरू हुन्छ मृत्युको इतिहास ?
वा जानेरै पनि बुझ पचाएका हुन्
कि कसरी अन्त्य हुन्छ मृत्युको इतिहास ?
मान्छेहरू आन्दोलित छन्
शहर बनाउन
मान्छेहरू व्यस्त छन्
घर बनाउन
र व्यस्त छन् बम बनाउन
र पनि घुसेको छैन दिमागमा
कि भोलि डरलाग्दो मृत्यु हुनेछ
सायद, पृथ्वी ध्वस्त हुने गरी ।
मान्छेहरू अबोध छन्
कि कसरी मृत्यु जन्मने गर्छ ?
भविष्य पर्गेल्न सक्ने मान्छे
मृत्युको मुखमा किन पछारिन्छ ?
सूर्य
तिमीलाई थाहा छ कि ?
जवाफ देऊ
कि मान्छेको मृत्यु
कसरी हुने गर्छ ?
सुन्दरहरैंचा –६, दुलारी, मोरङ