
काठमाडौंको नयाँबानेश्वरमा रहेको संघीय संसद् भवन परिसरमा सोमबार राति अज्ञात ड्रोन खसेको भन्नेबारे नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खतिवडाले असार २३ गते राति ९ बजेदेखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टी ड्रोन आएर खसेको बताएका हुन् ।
‘असार २३ गते राति ९ बजेको समयमा संसदको बायाँपट्टी ठूलो ड्रोन आएर खस्यो भन्ने समाचार आएको थियो । त्यो ड्रोन कहाँबाट आएको थियो, के का लागि आयो ? संसद्मा आएर खस्दा संसद्ले थाहा पायो कि पाएन ?,’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले भने, ‘विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने र अन्तर्राष्ट्रिय आतंकवादी गतिविधि भइरहँदा यस्तो गम्भीर चासोको विषयमा के भएको हो ? जानकारी गराइयोस् ।’