२४ असार २०८३, बुधबार

विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

असार २५, २०८२
काठमाडौं
विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्‌बकाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा किसानका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा उनीहरूले विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वचेतावनीलाई प्रभावकारी बनाउन, किसानलाई सहज रूपमा मल, बिउ र सिँचाइको सुविधा उपलब्ध गराउन आग्रह गरेका हुन् । 

सांसद रेखा शर्माले पूर्वतयारी प्रभावकारी नहुँदा प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् ।

उनले रसुवामा बाढीबाट भएको जनधनको क्षतिका बारेमा सदनलाई जानकारी गराउन माग गरिन् । सांसद शर्माले मलको अभावमा किसानले धान रोप्न नपाएका उल्लेख गर्दै मलको आपूर्तिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सांसद लालप्रसाद साँवा लिम्बूले मानो रोपेर मुरी उब्जाउने अवस्थामा किसानले मल पाउन नसक्दा चिन्तित भएका बताए । 'कृषिमा आत्मनिर्भर, आधुनिकीकरण, उत्पादन वृद्धि भनिरहेका छौं, तर मलको अभाव छ, कसरी यो लक्ष्य पूरा हुन्छ । आगामी दिनमा मलको अभाव हुन नदिन विशेष योजना बनाउनुपर्छ,' उनले भने ।

सांसद योगेन्द्र मण्डलले समयमा मल, बिउ, सिँचाइको सुविधा उपलब्ध गराएर किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

सांसद रणकुमारी बलम्पाकी मगरले प्राकृतिक विपद्‌बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद राजेन्द्रकुमार केसीले तीनै तहका तालिमप्राप्त सुरक्षाकर्मीलाई दुरुपयोग गरी पूर्वमन्त्री, राजनीतिककर्मी, उच्चपदस्थ तथा अवकाशप्राप्त व्यक्तिको घरमा खटाइने प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद राजेन्द्रकुमार राईले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि न्यून बजेट उपलब्ध गराइँदा नागरिक समस्यामा परेका बताए ।

सांसद रामकुमार राईले खेतीबालीको समयमा किसानले मल पाइरहेको छैन, कहिले पर्याप्त मल, बिउको व्यवस्था हुन्छ ? भनी प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्