
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्भित्र ठूलो ड्रोन खस्दा समेत थाहा नपाउने कस्तो संसद् ? भनेर बुधबार प्रतिनिधिसभा बैठकमा प्रश्न राखे ।
खतिवडाले असार २३ गते बेलुका ९ देखि ९:३० बजेसम्मको समयतिर संसद्को बायाँतिर ठूलो ड्रोन खसेको समाचार आएको बताए ।
‘असार २३ गते बेलुका ९ बजेर ९:३० सम्म यही संसद्को बायाँपट्टी ठूलो ड्रोन आएर खसेको समाचार प्राप्त भयो,’ प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने, ‘कहाँबाट आएको थियो ? केका लागि आएको थियो? संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो थाहा पाएन ?’
सांसद खतिवडाले भनेजस्तो संसद् भवनमा खसेको ठूलो ड्रोनको वास्तविकता के हो ? हामीले यसबारे सम्बन्धित अधिकारीहरूलाई सोधेका छौं ।
प्रहरीका अनुसार असार २३ गते राति ९ बजे आसपासमा एउटा ड्रोन बानेश्वरस्थित संसद् भवनको छतमा खसेको पाइयो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराका अनुसार उक्त ड्रोन २४ गते मंगलबार बरामद भइसकेको छ ।
बरामद ड्रोनमा चिप्स समेत भेटिएको छ । उक्त चिप्सभित्र के-के सुरक्षित राखिएको छ भन्नेबारे प्राविधिक पक्षबाट अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
उनले लोकान्तरसँग भने,‘प्रारम्भिक अनुसन्धानमा त्यो ड्रोन उडाउँदा प्राविधिक गडबढीका कारण खसेको जस्तो देखिन्छ । हामी विभिन्न शंकाको दृष्टीलाई कायमै राखेर अनुसन्धान गरिरहेका छौं ।’
ड्रोन उडानमा नागरिक उड्डयन प्राधिकरणको अनुमति अनिवार्य हुन्छ । एसपी बोहराका अनुसार बरामद ड्रोन दाबी गर्न कोही पनि आएका छैनन् ।