
लम्पी स्किन रोगको संक्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु संक्रमित भएका छन् । केही महिनायता संक्रमित १४२ गाईगोरु मरिसकेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ । हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ ।
जिल्लामा सबैभन्दा बढी यो रोगको संक्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको उनले बताइन्। उनले गर्मी बढेसँगै लम्पी स्किन रोगको संक्रमण फैलिरहेको बताइन् ।
‘यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ’, उनले भनिन्, ‘रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौं ।’
उनले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार पाँच सय वटा खोप जिल्लामा आएको बताइन् ।
यो रोग लागेका गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ । केन्द्रकी प्रमुख भट्टराईले विगतमा खोप लगाएका गाईगोरुमा सो समस्या नदेखिएको बताइन् ।
‘पहिल्यै खोप लगाएका गाईवस्तुमा रोग देखिएको छैन, नयाँ जन्मिएका बाछावाछी र बाहिरबाट खरिद गरेर ल्याइएका नयाँ गाईगोरुमा मात्र यसको जोखिम तीव्र मात्रामा देखिएको छ’, उनले भनिन् ।
उनले चालु आर्थिक वर्ष २०८१ /८२ मा गाईभैँसीमा देखिने बाँझोपन निवारणका लागि जिल्लाका ७२ वटा फार्ममा पुगेर अवलोकन गरी एकीकृत शिविर सञ्चालन गरेको बताइन् ।
यसैगरी, सोही अवधिमा प्राकृतिक विपद्बाट पशुधनमा भएको क्षतिका १३ निवेदन आएको उनले बताइन् । सोही निवेदनका आधारमा कार्यालयले छ हजारदेखि ७८ हजारसम्म राहत स्वरूप प्रदान गर्दै आएको उनले जानकारी दिइन् ।