
काठमाडौंको बौद्धमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली-३ घर भइ हाल काठमाडौं महानगरपालिका-६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
दिउँसो तामाङको कोठामा आगलागी भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली आगो निभाउन खटिए पनि तामाङ मृत अवस्थामा भेटिएकी थिइन्।
आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो निभाइएको एसपी बोहराले जानकारी दिए ।