
काठमाडौं उपत्यकामा अनावश्यक हर्न प्रयोग गरी ध्वनी प्रदूषण बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले चालकहरूलाई अत्यावश्यक बाहेक हर्न नबजाउन अनुरोध गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै हर्नको अत्यधिक प्रयोगले जेष्ठ नागरिक, बालबालिका र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पारिरहेको जनाउँदै सवारी चालकहरूलाई सचेत गराएको हो।
सूचनामा उल्लेख छ, “विगत केही समयदेखि उपत्यकामा अनावश्यक हर्न प्रयोगका कारण ध्वनी प्रदूषण बढेको जनगुनासो प्राप्त भइरहेको छ। लाखौं सवारी साधन सञ्चालन हुने यस क्षेत्रमा हर्नको दुरुपयोगले जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ।”
प्रहरीले अत्यावश्यक र विशेष अवस्थामा मात्र हर्न प्रयोग गर्न र अन्य अवस्थामा हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ३ अनुसार कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।