१४ असार २०८३, आइतबार

बर्सात्‌ले बाटो बिग्रियो, सुनसान बने भकुण्डेका ‘होमस्टे’

असार २८, २०८२
काठमाडौं
बर्सात्‌ले बाटो बिग्रियो, सुनसान बने भकुण्डेका ‘होमस्टे’

बाग्लुङ
हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम–स्टे) ।

बागलुङ नगरपालिका–१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर, वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती घरबास सुनसान भएका छन् । 

घरबासमा पाहुना आउन छोडेपछि स्थानीय बारीको काममा व्यस्त छन् । भकुण्डे गाउँका स्थानीयले १५ घरमा घरबास सञ्चालन गरेका छन् । हिउँदको समयमा सडक यात्रा सहज हुँदा पर्यटकको चहलपहल बढ्ने तर बर्खाको करिब चार महिना ठप्प हुने घरबास सञ्चालक यमबहादुर थापाले बताए । व्यावसायिक रूपमा सञ्चालन गरेको घरबासमा बाह्रै महिना पाहुना नआउँदा उत्पादन खेर जाने गरेको उनको भनाइ छ । 

थापाले भने, 'बागलुङ बजारदेखि यहाँ (भकुण्डे गाउँ)मा आउने सडक राम्रो हुन्थ्यो भने बाह्रै महिना एकैनासले पाहुना आउने थिए, अलि ठूलो वर्षा हुँदा बित्तिकै सडकमा गाडी गुड्न छोड्छन्, अहिले मान्छेहरू पैदलयात्रा गर्न खासै रुचाउँदैनन्, राज्यले यति सडकलाई व्यवस्थित गरिदिए घरबास सञ्चालनसहित सिङ्गो गाउँलेलाई सामान ढुवानी र यात्रा गर्न सहज हुने थियो ।'

अब असोज कात्तिकतिर मात्रै पाहुनाको चहलपहल हुने थापाले बताए । यतिबेला घरबास सञ्चालक कोदो रोप्ने, आलु खन्ने काममा लागेको उनको भनाइ छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको भकुण्डेमा गाडीमा एक घण्टा र पैदलयात्रा गर्दा करिब साढे एक घण्टामा पुग्न सकिन्छ । 

काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास पनि सुनसान बनेको छ । असार पहिलो सातादेखि पाउना आउन छोडेको सञ्चालक गोपाल श्रीसले बताए । अधिकांश पर्यटक सहरी क्षेत्रबाट आउने भन्दै बागलुङ बजारदेखि गाउँसम्म पुग्ने सडक अव्यवस्थित हुँदा पाहुन आउन नसकेको उहाँको भनाइ छ । कात्तिकदेखि जेठसम्म पाहुनाको चाप भई राखे पनि बर्खाको करिब चार महिना बन्द हुने श्रीसले सुनाए ।

'अहिले पनि धेरै पाहुनाहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ, आउँछौं भन्नुहुन्छ तर सडकको दूरावस्थाका कारण ल्याउन सकेका छैनौँ, गाउँको सडक अप्ठ्यारो छ, यति बेला अर्गानिक तरकारी फल्ने हो, न घरबासमा पाउन आउँछन् र खुवाउन पाइन्छ न बजारमा पठाउन सकिन्छ,' श्रीसले भने, 'व्यावसायिक रूपमा घरबास सञ्चालन गर्नेहरूलाई बर्खाको तीन/चार महिना घर परिवार चलाउन समस्या हुन्छ ।'

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रसँग जोडिएका सडकलाई व्यवस्थित गरी बाह्रै महिना सहज रुपमा सञ्चालन गर्ने गरी काम गरिरहेको बताए । गाउँपालिकाले घरबासलाई प्रवर्द्धन गरी पर्यटन क्षेत्रका विकास गर्ने उनको भनाइ छ । पालिकाभित्रका अझै कतिपय सडक अप्ठ्यारा रहेको हुँदा क्रमैसँग सुधार गर्दै जाने अध्यक्ष थापाले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्