२८ जेठ २०८३, बिहीबार

गाजामा हमासको घातक गुरिल्ला हमला : पाँच इजरायली सैनिकको मृत्यु, १४ घाइते

असार २८, २०८२
काठमाडौं
गाजामा हमासको घातक गुरिल्ला हमला : पाँच इजरायली सैनिकको मृत्यु, १४ घाइते

लामो युद्धले थकित भए पनि हमासले इजरायली सेनाविरुद्ध आक्रमण जारी राखिरहेको छ । 

गत सोमबार राति गाजाको उत्तरपूर्वी सहर बैत हानुनमा हमासले इजरायली सैनिकमाथि घातक हमला गर्दा कम्तीमा पाँच सैनिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

प्राप्त विवरण अनुसार, सीमाबाट करिब एक माइलभित्र इजरायली ट्यांकरहरू प्रयोग गर्ने बाटो हुँदै हिँडिरहेका सैनिकमाथि टाढाबाट नियन्त्रण गरिने बम विस्फोट गराइएको थियो । ती सैनिक नेट्जाह येहुदा नामक अति-धार्मिक यहूदी सैनिकहरूको बटालियनका थिए ।

पहिलो बम विस्फोटपछि थप सैनिक पुग्दा दोस्रो र तेस्रो विस्फोट पनि टाढाबाटै सञ्चालन गरिएको थियो । विस्फोटपछि हमासका लडाकुहरूले सानो हतियार प्रयोग गरेर गोली चलाएका थिए ।

घटनास्थल इजरायलको शहर सडेरोटबाट समेत देखिने स्थानमा पर्छ, जुन इजरायली सेनाको नियन्त्रणमा रहेको भनिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार हमासले हमला हुनु २४ घण्टा अगाडि नै बम राखी घात लगाएको थियो ।

गुरिल्ला रणनीतिमा फेरिएको हमास

गाजा युद्धको २१ महिनापछि कमजोर देखिएको हमासले अब गुरिल्ला शैलीमा आक्रमण गरिरहेको देखिएको छ । 

युद्धको क्रममा हमासले नियन्त्रण गुमाइसकेका क्षेत्रहरूमा पुनःउपस्थिति जनाउँदै इजरायली सेनामाथि आक्रमण गरिरहेको छ ।

इजरायली सेनाले भनिएको धेरै क्षेत्र ‘क्लियर’ बनाइसकेको दाबी गरे पनि हमास पुनः देखा परिरहेको छ । यसले हमासलाई निर्मूल पार्ने इजरायलको लक्ष्य अझै टाढा रहेको संकेत गर्छ ।

हमासको सैन्य शाखा अल-कस्साम ब्रिगेडले यो हमला त्यस्तो क्षेत्रमा गरिएको जनाएको छ, जहाँ इजरायली सेनाले ‘एक इँटा पनि उल्ट्याउन बाँकी नराखेको’ ठानेको थियो।

प्रत्येक हप्ता घातक आक्रमण, युद्धविराम अझै अन्योलमा

गाजा दक्षिणमा बुधबार पनि हमासले इजरायली इन्जिनियरिङ सवारीमा रकेट प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । इजरायली सेनाले उक्त आक्रमणमा एक सैनिक मारिएको र अपहरणको प्रयास असफल बनाइएको बताएको छ ।

इजरायली सेनाका अनुसार, इरानसँगको १२ दिन लामो द्वन्द्वपछि मात्र गाजामा १९ सैनिक मारिएका छन् । त्यस्तै, इजरायली जनरलहरूले २०,००० भन्दा बढी हमास लडाकु मारिएको दाबी गरे पनि हमासले नयाँ लडाकु भर्ती गरिरहेको रिपोर्टहरू आएका छन् ।

सेनाका पूर्व अधिकृत मेजर जनरल इजरायल जिभका अनुसार, हमास अब साना स्वतन्त्र समूहमा बाँडिएर विस्फोटक पदार्थ प्रयोग गरी घात लगाउने शैलीमा कार्यरत छ । यस्ता बममध्ये धेरै इजरायली सेनाले नै खसालेका अस्फोटन सामाग्रीबाट बनाइएको हुनसक्ने जिभको भनाइ छ ।

यता, हमास र इजरायलबीच दोहामा वार्ता भए पनि कुनै ठोस सहमति बन्न सकेको छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले पूर्ण रूपमा हातहतियार त्याग्नुपर्ने र शासन सत्ताबाट पछि हट्नुपर्ने अडान लिएका छन् । तर, हमासले यस्तो शर्त अस्वीकार गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्