२६ जेठ २०८३, मंगलबार
क्लब विश्वकपको फाइनल

च्याम्पियन्स लिग विजेता पीएसजीलाई अनुभवी चेल्सीको चुनौती

असार २९, २०८२
काठमाडौं
च्याम्पियन्स लिग विजेता पीएसजीलाई अनुभवी चेल्सीको चुनौती

फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको २१ औं संस्करणको उपाधिका लागि आइतबार राति दुई प्रभावशाली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र चेल्सीबीच भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार, राति १२:४५ बजे शुरू हुनेछ ।

खेल अमेरिकाको न्यू जर्सीस्थित मेट लाइफ स्टेडियममा खेलिने छ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र फ्रान्सेली क्लब पीएसजी जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका हुन् । यी दुवै टोलीले हालसम्म एक/एक खेल हारेका छन् ।

प्रतियोगिताको प्रारम्भिक चरणमा समूह ‘बी’ मा रहेको पीएसजी ब्राजिलियन क्लब बोटाफोगोसँग ०–१ गोलले पराजित भएको थियो । समूहगत चरणको बाँकी दुई खेलमा पीएसजीले एट्लेटिको मड्रिडलाई ४–० र सियाटल साउन्डर्सलाई २–० गोलले हराएको थियो ।

चेल्सी पनि प्रारम्भिक चरणको एक खेलमा पराजित भएको थियो । समूह ‘डी’ मा रहेको चेल्सी पनि ब्राजिलियन क्लब फ्लामेङ्गोसँग १–३ गोलले हारेको थियो । बाँकी दुई खेलमा चेल्सीले लस एन्जल्स एफसीलाई २–० र स्परेन्स डे ट्युनिसलाई ३–० गोलले पाखा लगाएको थियो ।

यसैगरी, चेल्सीले प्रिक्वार्टरफाइनलमा पोर्चुगिज क्लब बेनफिकालाई अतिरिक्त समयमा ४–१ गोलले, क्वार्टरफाइनलमा ब्राजिलिय क्लब पाल्मिरसलाई २–१ गोलले र सेमिफाइनलमा पनि ब्राजिलियन क्लब फ्लुमिनेसलाई २–० गोलले हराएको थियो ।

पीएसजीले भने प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनी स्टार लियोनल मेसी आबद्ध अमेरिकी क्लब इन्टर मियामीलाई ४–० गोलले, क्वार्टरफाइनल खेलमा बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई २–० गोलले र सेमिफाइनल खेलमा स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडलाई ४–० गोलले हराएको थियो ।

पछिल्लो समय पीएसजी निकै लयमा देखिएको छ । जारी फिफा विश्वकपमा पनि पीएसजीले निकै बलिया प्रतिद्वन्द्वीहरुलाई हराएर आफ्नो क्षमताको परिचय दिइसकेको छ । यसका अतिरिक्त, पीएसजी यूईएफए च्याम्पियन्स लिगको विजेता क्लब पनि हो ।

पीएसजीले च्याम्पियन्स लिगको फाइनलमा बलियो इटालियन सिरिए क्लब इन्टर मिलानमाथि ५–० गोलको एकपक्षीय जित हासिल गरेको थियो । पीएसजीका फाबियन रुइज पेना, ओसमान डेम्बेल, गोन्कालो रामोस, जोआओ नेभेस, अचरफ हकिमीलगायतका खेलाडी लयमा देखिएका छन् ।

यसैगरी, चेल्सीका पेड्रो नेटो, एन्जो फर्नान्डेज, लियाम डेलप, क्रिस्टोफर एनकुनकु, रिसे जेम्स, कोल पाल्मरलगायतका खेलाडी लयमा छन् । त्यसैले चेल्सी र पीएसजीबीचको उपाधि भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।

चेल्सी र पीएसजीबीच पछिल्लो पटक सन् २०१६ को च्याम्पियन्स लिगमा भिडन्त भएको थियो । त्यो खेलमा पीएसजीले चेल्सीलाई २–१ गोलले हराएको थियो । त्यो खेलमा पीएसजीका लागि एड्रिन राबियोट र ज्लाटन इब्राहिमोभिचले गोल गरेका थिए । चेल्सीका लागि एक गोल भने डिएगो कोस्टाले गरेका थिए ।

चेल्सीले हालसम्म एकपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । चेल्सीले सन् २०२१ मा उपाधि चुमेको थियो । चेल्सी सन् २०१२ मा भने उपविजेता बनेको थियो । पीएसजीले भने हालसम्म फिफा क्लब विश्वकपको उपाधि चुम्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्