
एकसाथ १४ वटा ठूला गाडी चार्ज गर्न मिल्ने गरी बुटवलमा इलेक्ट्रिकल भेहिकल (ईभी) चार्जिङ सेन्टर सञ्चालनमा आएको छ ।
३ करोड लगानीमा तिलोत्तमाको नयाँमिलमा शशीला मोटर्स प्रालिले व्यावसायिक चार्जिङ सेन्टर आइतबारदेखि सञ्चालनमा ल्याएको हो । देशकै ठूलो चार्जिङ सेन्टरको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाँणले उद्घाटन गरे ।
यस क्षेत्रमा बढ्दो विद्युतीय गाडीको प्रयोग र आवश्यकतालाई मध्यनजर गर्दै दैनिक १५० गाडी चार्ज गर्ने लक्ष्यसहित सेन्टर सञ्चालन गरिएको शशीला मोटर्स प्रालिका प्रबन्ध निदर्शक सन्तोष खतिवडाले बताए ।
स्टेसनमा १ हजार केभीए क्षमताको नेको ट्रान्सफर्मर जडान गरिएको छ भने ७ वटा चार्जिङ मशिनबाट दोहोरो सेवा प्रदान गरिएको छ ।

चार्जिङ स्टेसनको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खाँणले मुलुकको आर्थिक विकासका लागि इन्धन आयात घटाउनुपर्नेमा जोड दिँदै यसका लागि स्वदेशमा उत्पादित विद्युत् खपत बढाउनुपर्ने बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधीराम खरेलले विद्युतीय सवारी साधनले प्रदान गर्ने सेवाको गुणस्तर उच्चस्तरको हुनुपर्ने बताउँदै अघोषित लोडसेडिङको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।
अध्यक्ष खरेलले चार्जिङ स्टेसनमा अटो वर्कसप र अटो पार्टस्को व्यवस्थासमेत गरिनुपर्ने बताए ।
सोही अवसरमा शशीला मोटर्स प्रालिबाट हाईगर कम्पनीको विद्युतीय गाडी खरिद गर्ने ३ जनालाई साँचो हस्तान्तरण गरिएको थियो ।