२७ असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

धरापमा मन्त्री गुप्ताको पददेखि आयोगको शरणमा राप्रपाको लिङ्देनविरोधी गुटसम्म

असार ३०, २०८२
काठमाडौं
धरापमा मन्त्री गुप्ताको पददेखि आयोगको शरणमा राप्रपाको लिङ्देनविरोधी गुटसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिको संयोजक पदलाई सभापतिमा परिणत गरिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकले उक्त अध्ययन समितिमा सभापति रहने सहमति दिएको हो ।
सभामुख देवराज घिमिरेले समिति गठन भएको दिनबाटै लागू हुनेगरी संयोजक पदलाई सभापति काम गरिएको बताए ।
००००
विवादित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले हालै सार्वजनिक भएको अडियोकाण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौखिक स्पष्टीकरण दिँदै मन्त्री गुप्ताले पैसा क्वार्टरमै भेटिएको स्वीकारेका हुन् । यद्यपि, सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनको दाबी छ ।
००००
घुस डिल गरेको अडियो बाहिर आएर विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको सम्बन्धमा छानबिन गर्न संसद्मा आवाज उठेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले दुई जना मन्त्रीको नाम जोडिएको गम्भीर भ्रष्टाचार मुद्दाको छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । यस घटना सार्वजनिक भएसँगै मन्त्री गुप्ताको पद धरापमा परेको छ । काठमाडौँ बाहिर रहेका प्रधानमन्त्री फर्किसकेकाले यसबारे ठोस निर्णय लिने बताइएको छ । 
००००
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरसभाको १७औं अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै १२ अर्ब ८० करोड पूर्वाधार विकासमा, ५ अर्ब २ करोड सामाजिक विकासमा र ३ अर्बभन्दा बढी प्रशासनिक खर्चमा छुट्याइएको जानकारी दिइन्।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्काशित महामन्त्री मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आइतबार उक्त आदेश गरेको हो ।
००००
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । नगरपालिकाले पन्ध्र दिनभित्र छाउगोठ भत्काउन आज सूचना जारी गरेको छ । शनिबार राति छाउगोठमा सुतेकी एक महिलाको सर्पले डसेर मृत्यु भएको थियो । 
००००
असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ ।
 खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो ।
००००
रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ । 

राप्रपा जिल्ला कार्यसम्पादन समितिको आज बसेको बैठकले छ जनाको नाम सिफारिस गरेको प्रवक्ता दिलीपकुमार मल्लिकले बताए । सिफारिस हुनेहरूमा  पार्टीको जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिक रहेका छन् ।  
००००
सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल प्रिमियर लिग (एनपिएल)लाई प्राथमिकताका साथ निरन्तरता दिन माग गरेको छ ।
कांग्रेस खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दैै नेपाली क्रिकेटको विकासमा एनपिएल प्रतियोगिता महत्वपूर्ण कोशेढुङ्गा भएकाले यसलाई राज्यले विशेष प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने बताए ।
००००
साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।
००००
आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरूको शेयरमा लगानीकर्ता चासो देखिएको छ ।
००००
अन्तर्राष्ट्रिय प्रतियोगिता (एसियाड र विश्वकप)को तयारीमा रहेको राष्ट्रिय टोलीका खेलाडी रात कटाउन समेत पालो गरेर सुत्नुपर्ने बाध्यतामा रहेको पाइएको छ ।

समग्र नेपाली खेलकुदलाई प्रविधिको युगमा लगेको भनेर खुसियाली मनाइँदै गरेका बेला विश्वकप र एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका कबड्डी खेलाडीको बिजोगको दृश्य बाहिर आएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यअनुसार विभिन्न खेलका खेलाडीलाई ‘क्लोज क्याम्प’ मा राखेर प्रशिक्षण दिँदै आएको छ । त्यसमध्ये कबड्डी खेल पनि पर्छ ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकपको एसिया–प्यासिफिक क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि तयारी क्याम्प शुरू गर्न आइतबार ३२ सदस्यीय टोलीको घोषणा गरेको छ ।
००००
राप्रपा नेता नवराव सुवेदीले आफू अहिले पनि पार्टीको अनुशासन समितिको अध्यक्ष रहेको दाबीसहित निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

उनले प्रचलित कानून र पार्टीको विधान विपरीत कार्य गरी पार्टी सदस्यबाट निष्काशन गरिएको वा हटाएको अवस्थामा बाहेक पार्टीको अध्यक्षको एकल निर्णयले पदावधि अगावै हटाउने र हटाएको स्थानमा अर्को व्यक्तिलाई नियुक्त गर्ने अधिकार विधानले अध्यक्षलाई नदिएको दाबी गरेका छन् ।

सुवेदी राप्रपाकै लिङ्देनविरोधी गुटको सहयोगमा आयोगसम्म पुगेका हुन् । राप्रपामा लिङ्देनविरोधी गुटमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणालगायत रहेका छन् । सोही गुटले यसअघि राप्रपाको कुनै पदमा नरहेको भनेका सुवेदीलाई उचालेको नेताहरु बताउँछन् । 
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो स्पेन भ्रमणबारे विरोधी र अराजक तत्वहरूले तथ्यहीन प्रचार गरेका गुनासो गरेका छन् ।

झापाको दमक नगरपालिका अन्तर्गत मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमण सफल र फलदायी रहेको बताए ।

कमेन्ट गर्नुहोस्