२६ असार २०८३, शुक्रबार

वैदेशिक रोजगारीबाट फर्केर पूर्वपत्नीको हत्या

असार ३१, २०८२
बुटवल
वैदेशिक रोजगारीबाट फर्केर पूर्वपत्नीको हत्या

प्युठानमा पूर्वपत्नीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।​

सरुमारानी गाउँपालिका– ३ गोठेरीकी २८ वर्षीया रुक्मणि बरालको हत्या गरेको आरोपमा उनका पूर्वपति लीलबहादुर बराललाई प्रहरीले पक्राउ गरेको हो ।

ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लीलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिए ।

आफन्तको घरमा रहेकी रुक्मणिलाई लीलबहादुरले चक्कु प्रहार गरेर हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डीएसपी बस्यालका अनुसार रुक्मणि आफ्नी जेठानी डिला परियारको घर गएकी थिइन् ।​ डिलाका अनुसार ​लीलबहादुरले रुक्मणिलाई घरमै चक्कु प्रहार गरेका हुन् ।

आफूहरू कुरा गरिरहेको समयमा घरभित्र पसेका उनले रुक्मणिलाई चक्कु प्रहार गरेका डिलाले बताइन् । ‘मैले कराएँ, नहान्नु भनेँ, तर सुनेन । आँखै अगाडि छुरा प्रहार गरे । हारगुहार गर्दा पनि केही उपाय लागेन,' डिलाले भनिन् ।

इजरायलमा रोजगाररत लीलबहादुर यही असार २४ गते मंगलबार मात्रै घर फर्केका थिए ।​​​

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी इन्स्पेक्टर निरञ्जन रिजालका अनुसार आफू विदेशमा रहेको समयमा अर्को विवाह गरेपछि लीलबहादुरले रुक्मणिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । '२ छोराछोरीलाई छाडेर अर्को विवाह गरेको आवेगमा उनले हत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ, थप अनुसन्धान भइरहेको छ,' उनले लोकान्तरसँग भने ।​

रुक्मणिले लीलबहादुरलाई छाडेर गत वैशाखमा गोठेरीका २७ वर्षीय दीपक परियारसँग विवाह गरेकी स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दीपक भने कामको सिलसिलामा १५ दिनअघि संखुवासभा गएका छन् ।

रुक्मणि र लीलबहादुरका एक छोरा र एक छोरी छन् । आमाको हत्या र बुवाको गिरफ्तारीसँगै उनीहरू बिचल्लीमा परेका छन् । 

घटनाबारे जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले लीलबहादुरलाई नियन्त्रणमा लिएको डीएसपी  बस्यालले जानकारी दिए ।

लीलबहादुरले रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्