
गोष्ठीका नाममा अधिकांश कर्मचारी हिँडेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना व्यवस्थापन कार्यान्वयन एकाइको कार्यालय रित्तै रहेको पाइएको छ ।
ललितपुरको खुमलटारस्थित कार्यालयमा प्रमुखदेखि उपल्लो तहका अधिकांश कर्मचारी असार २७ देखि ३१ गतेसम्म पाँच दिने गोष्ठीका नाममा कार्यालय रित्तै छाडेर हिँडेको पाइएको हो ।
मंगलबार १२ बजेतिर लोकान्तरकर्मी उक्त कार्यालयमा पुग्दा अधिकांश कर्मचारीहरू अनुपस्थित थिए । कुल ३५ जना कर्मचारीमध्ये २२ जनाको कुर्सी रित्तै थियो ।
परियोजना निर्देशक तथा कार्यालय प्रमुख समेत रहेका सहसचिव हिक्मतकुमार श्रेष्ठ, लेखा उपसचिव हिरालाल भण्डारी, वरिष्ठ कृषि अधिकृत (उपसचिव) आशा शर्मा, वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत (उपसचिव) पुष्पराज पौडेल, वरिष्ठ योजना अधिकृत (उपसचिव) इन्द्र शर्मा पौडेल अनुपस्थित थिए ।

त्यसैगरी, शाखा अधिकृतहरूमध्ये योजना अधिकृतद्वय विकास पौडेल र माधव पौडेल, पशु विकास अधिकृत सुस्मिता विसंखे, पशु सेवा प्राविधिक प्रकाशराज सिवाकोटी, नायब सुब्बा दुर्गा रेग्मी, लेखापाल अभयराज काफ्ले, खरिदार सविता दाहाल, आईटी विज्ञ गोपाल तिवारी, कम्प्युटर अपरेटर शान्ता शाह धिताल पनि अनुपस्थित थिए ।

त्यसैगरी, हलुका सवारी चालकहरू ऋद्धि खड्का, भीम खड्गी, सञ्जय गिरी, अंकुर घिमिरे, कृष्णप्रसाद बजगाईं र टेक्निसियन मनोज शाक्य पनि अनुपस्थित रहेको पाइयो । सूचना अधिकारी समेत रहेका वरिष्ठ कृषि अधिकृत (उपसचिव) जितबहादुर चन्दले हाजिरीमा हस्ताक्षर गरेपनि कार्यालयमा उपस्थित थिएनन् ।

शाखा अधिकृत अमिषा बस्नेत, क्यामेराम्यान अनुप शर्मा पौडेल, लेखापाल अजिता अर्याल, कृषि इन्जिनीयर समिर श्रेष्ठ, कम्प्युटर अपरेटर बन्दना दाहाल उपस्थित थिए । त्यसैगरी, हलुका सवारी चालक गोविन्द रिजाल, कार्यालय सहयोगीहरू सुशीला खतिवडा, देवी खड्का, अजय शाह, कमल अधिकारी, सुरक्षागार्डहरू इन्द्रप्रसाद पौडेल, सुन्तली वि.क. र केशव भुजेल उपस्थित थिए ।
त्यहाँ उपस्थित रहेकी प्रशासन शाखाकी अधिकृत अमिषा बस्नेतले अनुपस्थित रहेका सबै कर्मचारीहरू काज गोष्ठीमा बाहिर गएको बताइन् ।
‘काभ्रेको धुलिखेलस्थित कृषि शिक्षा प्रशिक्षण प्रतिष्ठानमा आयोजित गोष्ठीमा सहभागी हुन सबैजना जानु भएको हो,’ बस्नेतले लोकान्तरसँग भनिन्, ‘गत असार २७ गतेदेखि नै त्यहाँ गोष्ठी आयोजना भएकाले उहाँहरू आजको मिति ३१ गते मंगलबारसम्म त्यहाँ सहभागी हुनुभएको छ ।’

बुधबारदेखि सबै कर्मचारी हाजिर हुन सक्ने उनले बताइन् ।
परियोजना निर्देशक तथा कार्यालय प्रमुख समेत रहेका सहसचिव हिक्मतकुमार श्रेष्ठले आफूसहितका कर्मचारीहरू गोष्ठीमा सहभागी भएको स्वीकार गरे ।
‘कार्यालय नै रित्तो बनाएका छैनौं । हामी यहाँ धुलिखेलमा गोष्ठीका लागि झन्डै १०/१२ जना कर्मचारी आएका हौं,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘केही अफिसरहरू कार्यालयमै हुनुहुन्छ । वरिष्ठ कृषि अधिकृत जीतबहादुर चन्द विभाग (कृषि विभाग)तिर जानुभएको छ भने अन्य एक/दुईजना अफिसरहरू मन्त्रालय (कृषि तथा पशु पन्छी विकास मन्त्रालय)तिर जानुभएको छ ।’
परियोजना अन्तर्गतकै जोन/सुपरजोन कार्यक्रममा लर्निङका लागि गोष्ठीमा आफूहरू आएको उनले बताए । ‘स्याउ, ओखर, सुन्तला, केरासहितको जोन, सुपर जोनको विषयमा अन्तरक्रिया गोष्ठी भएकाले अफिसरहरू पनि आउनुपरेको हो,’ श्रेष्ठले लोकान्तरसँग भने ।

घर जान समेत काज लेखेर हिँड्छन् प्रमुखदेखि कर्मचारी
विगत ५ दिनदेखि कार्यालय रित्तै पारेर गोष्ठीमा पुगेका उक्त एकाइका प्रायः कर्मचारीहरूले निरन्तर काज भन्दै भ्रमण गर्ने गरेको पाइएको छ ।
कार्यालय प्रमुख श्रेष्ठदेखि उपसचिव, शाखा अधिकृतदेखि नायब सुब्बा तथा खरिदारसम्म हरेक महिनामा पटक-पटक काज भन्दै कार्यालय बाहिर रहने गरेका छन् ।
गत वैशाखदेखि असारसम्मकै हाजिरी पुस्तिका हेर्ने हो भने केही कर्मचारी त लामो समयदेखि बिदामा बसेको पाइएको छ । बाँकी कर्मचारीहरूले विभिन्न जिल्लामा काज लेखेका छन् ।
कार्यालय प्रमुख हिक्मतकुमार श्रेष्ठ गत जेठ ५ गते त्यहाँ सरुवा भएर पुगेका थिए । जेठ १० गते शनिबार परेकोमा त्यसको भोलिपल्ट ११ देखि १४ गतेसम्म धादिङ र चितवन काज भनेर उनले आफ्नो हाजिरी पुस्तिकामा लेखेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ उनको घर समेत हो ।

१४ गतेको कोलममा काजको धर्को ‘एरो’ तानिएको छ भने सोही दिनको हाजिरीमा उनले हस्ताक्षर पनि गरेको देखिन्छ ।
जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा, जेठ १६ गते पोटाटो सम्मिटमा सहभागी भएको, १७ गते शनिबार, १८ गते सार्वजनिक बिदा र १८ देखि २० गते सम्म उनले काज लेखेका छन् । त्यसपछि जेठ ३१ गतेदेखि असार ७ गतेसम्म इन्डोनेसियामा कार्यक्रममा सहभागी भएको उनको हाजिरी पुस्तिकामा उल्लेख छ ।
त्यसपछि असार २७ गते हाजिरी गरेका उनले सोही दिनदेखि ३१ गतेसम्म चितवन र धुलिखेल काज भनेर हाजिरी पुस्तिकामा लेखेका छन् । उनले बिदाको छेको पारेर घर जाँदा समेत काज लेख्ने गरेको पाइएको छ । घर जाने/आउने भाडा, भत्ता र हाजिरी सबै हुने विकल्प उनले रोजेको देखिन्छ ।
त्यसैगरी, लेखा उपसचिव हिरालाल भण्डारीको हाजिरी पुस्तिका हेर्दा विगत ३ महिनामा ४१ दिन मात्र कार्यालयमा उपस्थित भएका देखिन्छन् । उनले वैशाख १ देखि ४ गतेसम्म सर्लाही काज, ५ देखि ८ गतेसम्म रुपन्देही र प्युठान काज लेखेका छन् । वैशाख ९ र १० गते कार्यालयमा उपस्थित भएका उनले ११ देखि १५ गतेसम्म पुनः हुम्ला काज लेखेका छन् । वैशाख २४ गते उनी बिदामा बसेका थिए ।

त्यसपछि जेठ ११ देखि १६ गतेसम्म पुनः उनले आफ्नो हाजिरी पुस्तिकामा चितवन र कास्की काज लेखेका छन् । १७ गते शनिवार, १८ गते सार्वजनिक बिदा र १९-२० गतेसम्म झापा, सुनसरी र मोरङ काज लेखेका छन् । जेठ २४ गते शनिबार भएको र त्यसको लगत्तै २५-२६ गतेसम्म पुनः रुपन्देही काज लेखेका छन् ।
त्यसपछि असार ४ देखि ७ गतेसम्म पुनः नुवाकोट काज, १२ देखि १४ गतेसम्म संखुवासभा काज र २५ देखि ३१ गतेसम्म सिन्धुली र काभ्रे काज लेखेका छन् ।
त्यसैगरी, वरिष्ठ कृषि अधिकृत आशा शर्मा लामो समयदेखि बिदामा बसेकी छन् । वैशाखमा १० दिन मात्र कार्यालय उपस्थित भएकी उनले ८ देखि १० गतेसम्म काज तालिम लेखेकी छन् भने १६ देखि २२ गतेसम्म काज लेखेकी छन् । वैशाख २३ गते हाजिरी गरेकी उनी त्यसको भोलिपल्ट २४ गतेदेखि हालसम्म घर बिदामा बसेकी छन् ।
त्यसैगरी, सूचना अधिकारी समेत रहेका वरिष्ठ कृषि इन्जिनियर (उपसचिव) जीतबहादुर चन्दको हाजिरी पुस्तिकामा पनि पटकपटक काज लेखिएको छ ।

उनले आफ्नो हाजिरी पुस्तिकामा वैशाख ५-६ गते काज लेखेका छन् । वैशाख १० गते हाजिरी पनि गरेका छन् भने सोही दिनदेखि १४ गतेसम्म जनकपुर काज लेखेका छन् । वैशाख २३ गते उनले न हाजिरी गरेका छन् न त काज वा बिदा जनाएका छन् । उक्त दिनको हाजिरी पुस्तिकामा खालि (रिक्त) छ ।
त्यसको भोलिपल्ट वैशाख २४ देखि २७ गतेसम्म उनले धुलिखेल काज लेखेका छन् । वैशाख ३१ गतेको दिन उनको हाजिरी पुस्तिकामा केही पनि लेखिएको छैन । न हाजिरी गरिएको छ न बिदा वा काज जनाइएको छ । तर, त्यसको भोलिपल्ट जेठ १ देखि ५ गतेसम्म काज (मधेश प्रदेश) लेखिएको छ । ५ गते काजको धर्को पनि तानिएको छ भने सोही दिन हाजिरी पनि गरेको देखिन्छ ।
जेठ ९ देखि १३ गतेसम्म पुनः मधेश र कोशी प्रदेश काज लेखिएको छ भने जेठ २३ गते उनले क्याजुअल बिदा लिएका छन् । पुनः जेठ २६ देखि ३० गतेसम्म धनुषा काज लेखेका छन् । जेठ ३० गतेको कोलममा काज लेखिएको रातो धर्को पनि तानिएको छ भने हाजिरी भएको हस्ताक्षर पनि गरिएको छ ।
त्यसपछि असार १२ देखि १५ गतेसम्म मधेश प्रदेशमा काज लेखेका छन् । असार २७ गतेको उनको हाजिरीमा केही पनि लेखिएको छैन । न हाजिरी गरिएको छ, न त केही कैफियत जनाइएको छ । असार २८ गते शनिबार तथा २९ र ३० गतेको हाजिरीमा पनि केही लेखिएको छैन । असार ३१ गते भने उनले हाजिरी गरेका छन् ।
माथि केही उच्च तहका कर्मचारीको गत वैशाखदेखि असार ३१ गतेसम्मको हाजिरी विवरणमा काज भन्दै पटक-पटक भ्रमण गरेको देखिएझैं बाँकी कर्मचारीहरूको पनि त्यस्तै अवस्था छ ।
कार्यालय प्रमुख श्रेष्ठ भने आफूहरूको काम नै देशभरका ७७ जिल्ला तथा ७५३ पालिकाका परियोजनाहरूको अनुगमन गर्नुपर्ने भएकाले सबै कर्मचारीहरू काज अनुगमनमा जाने गरेको बताउँछन् ।
'काज भ्रमणमा जाँदा नियमानुसार काज स्वीकृत गरेर नै जाने गरिएको छ,' श्रेष्ठले लोकान्तरसँग भने ।