०२ असार २०८३, मंगलबार

वित्तीय संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

असार ३१, २०८२
काठमाडौं
वित्तीय संस्थाका कर्मचारीलाई जुत्ताको माला लगाउने दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

ऋणको भाखा नाघेपछि घरमा गएका एक वित्तीय संस्थाका दुई कर्मचारीलाई जुत्ताको माला लगाउने दुई जना महिलाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध पक्राउ पूर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ ।  

मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन् ।  उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भएपनि पछि हटाइएको छ । अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

सुशीला लामिछानेमाथि जुताको मला लगाएको भिडियोमा प्रस्ट देखिएको छ भने राईले भने प्रतिकार गर्न खाजेका छन् । लामिछाने भने कुर्सिमा बसेकी थिइन् । राईलाई भने लछार छार गरेको भिडियोमा देखिएको छ ।

‘ऋण खाएर नतिरेपछि छलफलका लागि गएका बेला उनीहरूले माला लगाइदिएको भनेर जाहेरी परेको छ,’  मोरङ प्रहरी प्रवक्ता, डीएसपी चुँडालले भनिन् ।’ 

प्रहरीका अनुसार दुर्गामाया लिम्बुको घरमा जुत्ताको माला लगाइएको हो । उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपनि अहिलेसम्म पक्राउ भने भएका छैन । मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको डीएसपी चुँडालले बताइन् । 

ऋण असुलीको सिलसिलामा कर्मचारीहरू उनीहरूको घरमा पुग्दा आइतबार दिउँसो अमर्यादित आचरण गरेको भन्दै सहकारी संस्थाले समेत आपत्ति जनाएको छ । यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छवि धूमिल पार्ने काम गरेको सहकारी संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहकारीले वित्तीय कारोबारलाई स्वस्थ एवं मर्यादित राख्न सबैलाई जिम्मेवार बन्न पनि आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्