
ठूला भनिएका मात्र होइन, चल्तीका स्थानीय सहकारी समेत संकटमा फस्न थालेपछि रुपन्देहीका आम बचतकर्ता निकै समस्यामा परेका छन् ।
स्थानीय सञ्चालक रहेको जिल्लाको तिलोत्तमा– ३ स्थित ३२ वर्ष पुरानो डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका पदाधिकारीले बदमासी गरेपछि आफ्नै छरछिमेकी सञ्चालक रहेको वित्तीय संस्थाप्रति पनि सर्वसाधारणको विश्वास गुमेको छ ।
बैंकसँग पहुँच नभएका निमुखा वर्गको ‘गणित’को रूपमा चिनिने सहकारीमा हुने/खानेको चहलपहल र अपव्याख्या गरी सञ्चालन गरेपछि विपन्न समुदायको पैसा फस्ने क्रम रोकिएको छैन ।
दूध र दुग्धजन्य पदार्थको कारोबार समेत गर्दै आएको ३८ करोड पूँजी रहेको सहकारीको १ हजार ९०० बचकर्ताको १७ करोड रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुली १५ असारदेखि सम्पर्कविहीन छन् ।
रूपन्देहीमा रकम अपचलन गरेर सञ्चालक फरार भएको डिंगरनगर १२ औं सहकारी हो । बचत रकममध्ये ९ करोड व्यवस्थापक पराजुली र बाँकी ७ करोड अध्यक्ष तिवारी तथा सचिव थापाले हिनामिना गरेको आरोप लागेको छ ।
अध्यक्ष तिवारी र सचिव थापा अझै फरार रहे पनि व्यवस्थापक पराजुलीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । डिंगरनगर दूरगामी सहकारी संस्थाको मर्म र कानूनी प्रावधानविपरीत चलेको देखिन्छ । तिवारीले बचतकर्ताको रकमबाट अस्ट्रेलियामा घर किनेको चर्चा चलेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर– ३ का वडाध्यक्ष कल्याण पौडेलले अब कसलाई विश्वास गर्ने भनेर प्रश्न उब्जिएको बताए ।

‘सहकारी सञ्चालकको ठूलो कमजोरीले संकटमा फसेको देखिन्छ,’ उनी भन्छन्, ‘सहकारीको ‘प्रोपर्टी’ बेचेर बचतकर्तालाई रकम फिर्ता गराउन सकिएला अब सहकारीमा विश्वासको खडेरी देखियो । अध्यक्षले अस्ट्रेलियामा घर किन्दैछन् अरे भन्ने कुराको चर्चा मैले पनि सुनेको थिएँ ।’ अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुली सम्पर्कविहीन भएपछि बचतकर्ताले दैनिकरूपमा उनीहरूको घर घेर्दै आएका छन् ।
सहकारीमा १७ वर्षसम्म तिवारी अध्यक्ष रहेको पाइएको छ । प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार दुईपटक भन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । अध्यक्ष तिवारी कांग्रेस नेता तथा अघिल्लो निर्वाचनमा वडाअध्यक्षको उम्मेदवारका प्रमुख दाबेदार समेत थिए ।
सचिव थापा पनि कांग्रेस तिलोत्तमा नगरसमितिमा पूर्व पदाधिकारी हुन् । सहकारीका सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा– ३ की सभापति हुन् । १३ सदस्यीय सञ्चालक समितिमा तीनजनाबाहेक सबै कांग्रेसका स्थानीय नेता/ कार्यकर्ता थिए । सहकारीमा ६ वर्षदेखि बचत गर्दै आएका माधवप्रसाद पन्थले सहकारीप्रति अब विश्वास गुमेको बताए ।
‘सहकारीमा मेरो ५ लाख बचत छ,’ पन्थ भन्छन्, ‘टोल छिमेककालाई धेरै विश्वास गर्दा फसियो । नियमनकारी निकाय, सरकार र अडिटरले कडाइ गर्नुपर्यो । नियमनकारी निकायले ठीक छ भन्ने, अडिटर आएर अडिट गर्दा अवस्था राम्रो देखाइदिने परिपाटी खराब भयो ।’
धेरै नाफा कमाउने सहकारी भनेर बाहिर चर्चा भएपछि अन्य सहकारी छाडेर डिंगरनगर सहकारीमा आउने क्रम बढेको थियो । अहिले प्रहरीसहित व्यवस्थापक पराजुलीलाई राखेर अडिटरले अडिट गरिरहेका छन् ।
सहकारीको चेकमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुन्छ ।

तर, यो सहकारीमा कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यको हस्ताक्षर ‘अप्सन’ मा राखेर अध्यक्ष, सचिवसहित ६ जना पदाधिकारीमध्ये दुई जनाका बनाइएको थियो ।
कोषाध्यक्ष बज्राचार्य भन्छन्, ‘प्रमुख दोषी व्यवस्थापक देखिन्छन् । मैले काटेका दुईवटा चेक भेरिफाई गर्न खोज्दा नदिएपछि यो समस्या बाहिर आएको हो । मेरो सिग्नेचर अनिवार्य बनाइएको छैन । व्यवस्थापकले राम्रो प्रतिवेदन देखाउने, खराब कर्जा र ऋणको अवस्था समेत हामीलाई सही नभन्ने गरेछन् ।’
सहकारीको समस्या देखिएपछि भित्रभित्रै मिलाउने प्रयास समेत भएको बुझिएको छ । त्यसमा व्यवस्थापक पराजुलीले ९ करोड फिर्ता गर्ने र बाँकी अध्यक्ष तिवारी र सचिव थापाले मिलाउने गरी सञ्चालक समितिको पदाधिकारी बैठकमै माइन्युट गरिएको थियो ।
तत्काल समस्या समाधानका लागि एकजना बचकर्ताले सहकारीलाई १० करोड नगद उपलब्ध गराउने र त्यसका लागि अध्यक्ष तिवारी वा सचिव थापाले धितो दिनुपर्ने सर्त थियो । तर, सहमतिको अर्को दिन केही विषय मिलेन तिवारी र थापाले माइन्युट च्यातेर भागेपछि मिलाउने प्रयास भड्किएको थियो ।
सहमति भड्किएको भोलिपल्ट सहकारीका सचिव थापा सहकारीको कार्यालयमा पुगेर असार ६ गतेदेखि यता बसेका बैठकका निर्णयको सम्पूर्ण माइन्युट च्यातेर बाहिरिएका थिए । सचिव थापा आधा घण्टासम्म सहकारीमा बसेर भित्रबाहिर गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

त्यसपछि अध्यक्ष तिवारी र सचिव थापा फरार भएका थिए । जिम्मेवार व्यक्तिबाटै माइन्युट च्यातेर सहकारीमा भएका प्रमाण नष्ट गर्ने प्रयास भएपछि जनप्रतिनिधिको रोहबरमा प्रहरीले सहकारीमा ताला लगाएको थियो ।
१ हजार ९०० बचतकर्तामध्ये करिब ९०० ऋणी रहेको सहकारीले जनाएको छ । बचत अपचलन गरेका व्यवस्थापक पराजुलीले श्रीमतीसँग नक्कली सम्बन्धविच्छेद गर्न खोजेको बचकर्ताले बताएका छन् ।
पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले जिल्ला अदालत रुपन्देहीमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको बचतकर्ताले दाबी गरेका छन् ।
सहकारी क्षेत्रका जानकार कृष्ण चौहान क्षेत्रीले सहकारी सञ्चालनमा हुने ‘स्व नियमन’ विधाको गलत उपयोग गर्दा सहकारी बिग्रिनबाट अझै नरोकिएको बताउँछन् ।
‘डिंगरनगर सहकारीमा अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतो देखियो,’ उनी भन्छन्, ‘यो घटनाले सहकारीको नाम लिँदा मानिसहरू त्रसित हुने थाले । सहकारीमा बचत फिर्ता माग्न आउने क्रम बढ्यो ।’ नयाँ सहकारी ऐनले सञ्चालक समितिमा बसेकाले सहकारीबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले व्यवस्थापकलाई नियन्त्रणमा लिइए पनि अध्यक्ष र सचिव अझै सम्पर्कविहीन रहेको बताउँछन् । ‘व्यवस्थापकलाई ठगी अभियोगमा नियन्त्रणमा लिएका छौं, अडिटरले मगाएपछि हामीले शनिबार कार्यालयमा पठाएर उनको रोहवरमा अडिट हेराएका थियौं । अडिटको रिपोर्ट दिएपछि थप अनुसन्धान अघि बढ्छ,’ रानाले लोकान्तरसँग भने ।
गत वैशाखमा बुटवल–११ देवीनगरस्थित सनराइज बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेर अध्यक्ष आकाश भट्टराई सम्पर्कविहीन छन् । बुटवलमा बुटवल बाहिर दर्ता भएका शिवशिखर, सुप्रिम, आगन्तुक, मार्गदर्शन, साइन, सार्थक, मन्जुश्री, उपकार, उपदेश, सनराइज लगायतमा उजुरी परेको छ ।