
स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा यस सम्बन्धमा जानकारी दिँदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हट्दा नागरिकलाई परेको कठिनाइ सम्बोधन गर्दै नजिक प्रथम सेवा विन्दु नभएर सेवा लिन अप्ठ्यारो पर्ने स्थानका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं ।’
हालै स्वास्थ्य बीमा बोर्डले निजी तथा सरकारी अस्पतालमा प्रथम सेवा विन्दु हटाएर स्थानीय तहमा नै व्यवस्था गर्ने निर्णय गरेको थियो ।
तर, त्यस व्यवस्थाले नजिक केन्द्रीय अस्पताल नभएका स्थानका नागरिकलाई झनै समस्या परेको गुनासो प्राप्त भएपछि मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत् समस्या समाधान गर्ने प्रयास थालेका हुन् ।
अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा विन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालमा प्रथम सेवा विन्दुको सुविधा उपलब्ध गराउनेछ ।
मन्त्री पौडेलले हरेक स्थानीय तहमा प्रथम सेवा विन्दु नभएका स्थानमा स्थापना तथा भएकाको सेवा सुविधा वृद्धिका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘स्वास्थ्य बीमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा विन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ उनले भनेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुधार गर्दै नागरिकको पहुँच वृद्धिसँगै यसको दिगोपना र विस्तारका लागि निरन्तर प्रयत्नशील रहेको भन्दै मन्त्री पौडेलले यस कार्यमा प्राप्त सल्लाह र सुझाव सदैव स्वागत गर्ने समेत उल्लेख गरेका छन् ।