२८ जेठ २०८३, बिहीबार
राउण्ड अप

सरसर्ती २४ घण्टाः उपेन्द्र विपक्षमा, बढ्यो राजश्व संकलन

साउन १, २०८२
काठमाडौं
सरसर्ती २४ घण्टाः उपेन्द्र विपक्षमा, बढ्यो राजश्व संकलन

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो ।
००००
नेपाल नगरपालिका संघका अनुसार देशभरका २९३ वटा महानगर, उपमहानगर र नगरपालिकामध्ये ११ नगरले आर्थिक वर्ष २०८२/८३ का लागि आषाढ मसान्तसम्म पनि बजेट पेश गर्न सकेनन् ।

समयमै बजेट प्रस्तुत गर्न असफल नगरपालिकामध्ये हर्क सम्पाङ नेतृत्वको धरान समेत रहेको छ । 
सामान्यतस् हरेक स्थानीय तहले आषाढ १० गतेभित्र नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसपछि आषाढ मसान्तभित्र सो बजेट पारित गरिनुपर्ने प्रावधान छ। तर विभिन्न प्रशासनिक र राजनीतिक कारणले गर्दा यी नगरपालिकाहरूले समयमै बजेट प्रस्तुत गर्न नसकेका हुन्। यस्तै १२ वटा गाउँपालिकाले समेत बजेट ल्याएनन् । 
००००
चिकित्सा शिक्षा आयोगको बुधबारको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र  मूूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो ।
००००
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आइबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित भएको छ ।
 कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बुधबार बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बठैकले बजेट पारित गरेको हो ।
००००
अधिकतम २५ करोडसम्म शेयर धितोमा राखेर कर्जा लिन सकिने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो ।
००००
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा उनले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएकी हुन् ।
००००
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० जना नेपालीलाई आममाफी दिएको छ ।

ईद अल–अदाह पर्वको अवसरमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको नेपाली राजदूतावास, अबुधाबीले जनाएको छ ।
००००
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपा समर्थकलाई क्षमादान दिने भनेपछि उनीहरूले अदालतबाट सफाइ पाएका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरूलाई सफाइ दिने निर्णय गरेको हो । यसअघि अदालतले उनीहरूसँग एक एक लाख रूपैयाँ धरौटी माग गरेको थियो ।
००००
आयोडिनयुक्त नूनको कारोबार निजी क्षेत्रलाई सुम्पिने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
अधिवक्ता शीतल महर्जनलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार सरकारको उक्त निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।
००००
स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा यस सम्बन्धमा जानकारी दिँदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हट्दा नागरिकलाई परेको कठिनाइ सम्बोधन गर्दै नजिक प्रथम सेवा विन्दु नभएर सेवा लिन अप्ठ्यारो पर्ने स्थानका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौं ।’
००००
आर्थिक वर्ष २०८१/८२ सकिएको छ । यो आर्थिक वर्ष नेपालको अर्थतन्त्रमा औसत परिणाम बोकेर समाप्त भएको छ ।
यो आर्थिक वर्षभित्र भएका आर्थिक घटनाक्रमहरूले नेपालको परिप्रेक्षमा अवसर र संकट दुवै निम्त्याएका छन् ।
००००
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको लामो छलफलको २ दिनमै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ ।
बुधबार बसेको जसपा, नेपाल संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको हो । बैठकलगत्तै जसपाले सरकारलाई दिएको समर्थन फिर्ताबारे सभामुख देवराज घिमिरेलाई भेटेर जानकारी गराएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव ६१ अङ्कले बढेर दुई हजार ७९४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।

बुधबार तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्