
मकवानपुरकी सम्झना (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि गत वैशाखमा कुवेत उडिन् ।
दुई सन्तानकी आमा सम्झनाले कुवेतमा घरेलु कामदारको रूपमा काम गर्दा राम्रै आम्दानी हुने मात्रै बुझेकी थिइन् । तर, सोचेकोभन्दा फरक पाइन् ।
गाउँकै टीकाराम तामाङ भन्ने हरिबहादुर मोक्तानमार्फत ‘फ्री–भिसा, फ्री टिकट’ मा कुवेतमा पुगेपछि सम्झनालाई दैनिक १८ घण्टासम्म काममा लगाइयो । पेटभरी खान पनि दिइएन ।
बिरामी भएर नेपाल जान्छु भन्दा पनि उनलाई घरमालिकले ‘तिमीलाई हामीले किनेर ल्याएको हो । एक लाख रुपैयाँ देऊ, अनि मात्रै नेपाल पठाइदिन्छु,’ भनेर दुर्व्यवहार गर्न थाले ।
सम्झनाले मोक्तानलाई पनि आफूले दु:ख पाएकाले घर फर्किने मेसो मिलाइदिन भनिन् । मोक्तानले ‘कुवेत पठाउन लागेको एक लाख खर्च देऊ, अनि मात्रै फर्काउँछौं’ भनेर जवाफ दिए ।
कुवेतमा सम्झनालाई घरकी मालिक्नी र उनका छोराले कुटपिट मात्रै गरेनन्, मानसिक यातना पनि उत्तिकै दिए । केही सीप नलागेपछि नेपालमा रहेका श्रीमानलाई फोन गरिन् ।
‘मलाई यहाँ धेरै गाह्रो भएको छ, नेपाल फर्काऊ’ भन्दै सम्झनाले चित्कार गरेपछि उनका श्रीमानले श्रीमतीलाई कुवेत पठाउने एजेन्टमध्येका एक समिर तामाङसँग सम्पर्क गरे ।
समिरले सम्झनालाई नेपाल पठाउने भए ४० हजार रुपैयाँ दिन भने । सम्झनाका श्रीमानले अरुणकुमार बर्मा कायस्थको नाममा रहको प्रभु बैंकको खातामा ई–सेवामार्फत ४० हजार रुपैयाँ जम्मा गरिदिए ।
पैसा पठाएपछि समिर सम्पर्कमा आएनन् । बरु उल्टै सम्झनालाई कुवेतका घरबेटीले एजेन्टकोमा पुर्याइदिन्छु भनेर अन्त कतै बन्धक बनाएर राखे ।
त्यसपछि मात्रै सम्झनाका श्रीमान प्रहरीमा पुगे । उनले आफ्नी श्रीमती सम्झनाको रिहाइ र उनलाई कुवेत पठाउने एजेन्ट हरिबहादुरलाई कानूनी कारबाही लागि भन्दै प्रहरीमा जाहेरी दिए ।
प्रहरीले हरिबहादुरलाई पक्राउ गर्यो । उनको विगत खोतल्दा प्रहरी नै झस्कियो ।
काठमाडौंको डल्लुमा झोला बुन्ने काम गरेका हरिबहादुर २०५७ मा पर्साको वीरगञ्जमा २ किलो गाँजासहित पक्राउ परेका थिए । पर्सा अदालतमा मुद्दा दर्ता हुँदा उनी १२ हजार धरौटी तिरेर छुटे । फैसला हुँदा एक वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी धरौटीमा छुटेलगत्तै फरार थिए ।
१० वर्षसम्म लागूऔषध गाँजाकै कारोबार गर्दै आएका हरिबहादुर २०६७ मा सर्लाहीमा ४० क्विन्टल गाँजासहित पक्राउ परे । सर्लाही अदालतमा उनीविरुद्ध मुद्दा चल्यो ।
अदालतले हरिबहादुरविरुद्ध ८ वर्ष कैद र १५ हजार जरिवानाको फैसाला सुनायो । उनी २० महिना सर्लाही कारागारमा बसे । सुनसरीको झुम्कामा ५ वर्ष बिताए र मकवानपुरको भीमफेदी कारागारमा १६ महिना कैद भुक्तान गरेपछि हरिबहादुर २०७५ मा छुटे ।
हरिबहादुरले बयान दिएअनुसार भीमफेदी कारागारमा बस्दा उनको समिर तामाङसँग भेट भएको थियो । समिर पनि लागुऔषध मुद्दामै जेल परेका रहेछन् । समिरले ‘जेलबाट छुटेपछि सम्पर्कमा रहनुपर्छ’ भनेर हरिबहादुरलाई भन्दै आएका थिए । समिर २०७४ मा जेलबाट छुटे ।
हरिबहादुर जेलबाट छुटेपछि गोंगबुस्थित नयाँ बसपार्कमा समिरलाई भेट्न पुगे । भेटमा समिरले ‘म महिलाहरूलाई कुवेत पठाउने काम गर्छु, तिमीले पनि महिलाहरूलाई सम्पर्कमा ल्याउनू । एकजना महिला खोजेबापत २० हजार कमिसन दिन्छु,’ भनेकाले आफूले एजेन्टको काम गरेको हरिबहादुरले बयानमा स्वीकारेका छन् ।
आर्थिक अवस्था नाजुक रहेका महिलाहरूलाई कुवेतमा घरेलु कामदारमा जाँदा राम्रो आम्दानी हुने आश्वासन दिएर आफूले समिरमार्फत विदेश पठाउँदै आएको हरिबहादुरले बयानमा खुलाएका छन् ।
हरिबहादुरले नेपाली महिलाहरूलाई विदेशमा लगेर बिक्री गर्दा आउने कमिसनले आफ्नो परिवार चलिरहेको बताएका छन् ।
‘पहिला महिलाहरू खोजिन्छ, अनि उनीहरूलाई मीठो आश्वासन दिएर भिसा, प्लेनटिकट लगायत कागजात तयार पारिन्छ,’ हरिबहादुरले बयानमा भनेका छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाउन सकियो भने ठिकै भयो, नत्र सडक मार्ग हुँदै भारतको दिल्ली लगेर त्यतैबाट महिलाहरूलाई कुवेत पठाउँथ्यौं ।’
हरिबहादुरका अनुसार एकजना महिलालाई कुवेत पठाएबापत समिरले ६ सय केडी (नेपाली २ लाख ६९ हजार ३ सय ४३ रुपैयाँ) बुझ्थे । मेडिकल गरेर समिरलाई महिला बुझाएपछि हरिबहादुरले २० हजार कमिसन पाउँथे । बयानमा हरिबहादुरले खुलाएअनुसार समिरमार्फत नै उनको राजकुमार तामाङ, अनिश तामाङ र अभिषेक तामाङसँग चिनजान भएको थियो ।
‘मेरो आफ्नै म्यानपावर छैन । समिरलगायतले म्यानपावरमार्फत महिलाहरू कुवेत पठाउँदै आएका छन्,’ हरिबहादुरले बयानमा भनेका छन्, ‘सम्झना जसरी नै मैले मात्रै ५० जना नेपाली महिलालाई कुवेत पठाएको छु । काम सकिएपछि प्रत्येकबाट २० हजार कमिसन लिएको छु ।’
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार मात्रै हरिबहादुरलाई प्रतिवादी बनाएर मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
अभियोगपत्रमा हरिबहादुरले बयानमा पोलेका व्यक्तिलाई समेत मौकामा पक्राउ गरी कानूनी दायरामा ल्याउने भनिएको छ । कुवेतमा बन्धक बनाइएको भनिएकी सम्झनालाई पनि नेपाल ल्याउन प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत पहल थाल्ने उल्लेख गरिएको छ ।