
सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको एक भिडियोले हाल समाजमा व्यापक चासो र चिन्ता उत्पन्न गराएको छ।
उक्त भिडियोमा एक पुरुषले महिलालाई पोखरीमा चोपल्दै अत्यधिक दुर्व्यवहार गरिरहेको देखिन्छ। भिडियोलाई लिएर विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपयले यस घटनालाई नेपालमै भएको दाबी गर्दै फैलाइरहेका छन्।
तर नेपाल प्रहरीले उक्त भिडियोबारे आधिकारिक जानकारी दिँदै घटना नेपालमा नभई छिमेकी राष्ट्रमा घटेको स्पष्ट पारेको छ ।
नेपाल प्रहरीले भनेको, 'सामाजिक सञ्जालका विभिन्न माध्यममा एक जना पुरुषले महिलालाई पोखरीमा चोपल्दै यातना दिइरहेको भिडियो सम्प्रेषण भइरहेको सम्बन्धमा अनुसन्धान गर्दा घटना नेपाल बाहिरको भएको पुष्टि भएको छ।'
प्रहरीले यस्तो किसिमको सामग्री सार्वजनिक गर्दा सावधानी अपनाउन आग्रहसमेत गरेको छ। प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामीलाई विभिन्न माध्यमबाट उक्त भिडियो पठाई सत्य तथ्य बुझिदिन अनुरोध गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छौं। यस प्रकारको कुनै पनि फोटो, भिडियो वा सामग्री आधिकारिक स्रोत नखुलेको अवस्थामा, आफैंलाई सत्य जानकारी नभएको खण्डमा केवल सामाजिक सञ्जालमा 'लाइक' र 'भ्यु' बढाउने उद्देश्यले यथार्थ नबुझी जथाभावी रूपले सम्प्रेषण नगर्न सम्पूर्णमा अनुरोध गर्दछौं।"
नेपाल प्रहरीले सामाजिक उत्तरदायित्व बोध गर्दै नागरिकहरूलाई अफवाह र भ्रमजनक सामग्रीबाट सतर्क रहन आग्रह गरेको छ।