
अमेरिकाले भारतको काश्मिर क्षेत्रमा गत अप्रिल २२ भएको पहलगाम आक्रमणको जिम्मा लिएको 'द रेसिस्टेन्स फ्रन्ट' (ट्रफ)लाई आतंकवादी संगठन घोषणा गएको छ ।
अमेरिकाको यो निर्णयले भारत र अमेरिकाबीचको आतंकवादविरुद्धको सहकार्यलाई बलियो बनाएको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रशंसा गरेका छन् ।
ट्रफले जिम्मा लिएको पहलगाम आक्रमणमा २६ सर्वसाधारणको ज्यान गएको थियो । ट्रफलाई पाकिस्तानमा आधारित लश्कर-ए-तैयबा (एलईटी)को शाखा मानिन्छ ।
उक्त संगठन लामो समयदेखि भारतविरुद्ध गतिविधिमा संलग्न रहेको छ ।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'आतंकवादप्रति शून्य सहनशीलता । भारत-अमेरिकाबीचको यो सहकार्यले आतंकवादी गतिविधिलाई नियन्त्रण गर्न ठूलो योगदान पुर्याउने छ ।'
उनले रुबियो र अमेरिकी विदेश विभागलाई ट्रफलाई आतंकवादी संगठन घोषणा गर्ने निर्णयका लागि धन्यवाद दिएका छन् ।
त्यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो कदमलाई ट्रम्प प्रशासनको आतंकवादविरुद्धको दृढ नीतिको प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।
२०१९ मा स्थापना भएको ट्रफले काश्मिरमा भारतविरुद्ध गतिविधि सञ्चालन गर्दै आएको छ । रोयटर्सको एक रिपोर्टअनुसार यो समूहले सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधि प्रचार गर्दै आएको छ ।
पहलगाम आक्रमणपछि भारतले पाकिस्तानमाथि आरोप लगाएको थियो । पाकिस्तानले भने यस्ता समूहलाई समर्थन नगर्ने दाबी गर्दै आएको छ ।
यो निर्णयले भारत र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।