
रूपन्देहीको तिलोत्तमा–१ आरतीचोकका खिमलाल पाण्डे सानैदेखि जनावर प्रेमी थिए । पाण्डे आफ्नै घरनजिक रहेको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका)का जनावरको रेखदेख र संरक्षण गर्थे ।
‘सानो चिडियाखाना’का रूपमा चिनिने वनबाटिकामा अजिंगरलगायत जनावरहरू थिए । जनावर र सरिसृप घाइते बनाएको देख्दा दुखी हुने पाण्डेले तिनको उद्धार र उपचार पनि थाले । उनले जंगलमा देखिएका अजिंगरलाई उद्धार गर्न सिके ।
अनि बुटवलका सर्पविज्ञ कमल देवकोटासँग उनको सम्पर्क भयो । देवकोटासँग खिमलालले सर्पलाई मार्न हुन्न भन्ने ज्ञानदेखि उद्धार तालिम लिए । पाण्डेले सर्प उद्धारका लागि चाहिने आवश्यक औजार पनि जोडे ।
बाटोघाटो र खेतमा देखिने सर्प उद्धार गरी पाण्डेले जंगलमा लगेर छाड्थे । विस्तारै उनलाई घरभित्र पसेका सर्प उद्धार गर्न खबर आउन थाल्यो । उनले २०६० तिरबाट सर्प उद्धारको काम थाले । यो क्रम अहिलेसम्म पनि जारी छ ।
हालसम्म उनले तीन हजारबढी सर्प उद्धार गरिसकेका छन् । खिमलालको काम उनका दुई छोराहरूले पनि सिके । वनबिहारमा सर्प उद्धार र संरक्षण गर्ने कामलाई रूचिका साथ जेठो छोरा विशाल र कान्छो विश्वासले पच्छाइरहेका छन् । अहिले तीन जना बाबुछोरा नै सर्प उद्धारमा सक्रिय छन् ।
सर्प समातेर उद्धार गर्ने काम निकै जोखिमपूर्ण मानिन्छ । तर, तीन बाउछोराले ज्यान जोखिममा राखेर पनि नि:स्वार्थ काम गरिरहेका छन् । उनीहरूसँग सर्प समात्न प्रयोग हुने पर्याप्त औजारहरू छन् ।
विशाल भन्छन्, ‘बाबाले सर्प उद्धार गरेको हेर्दाहेर्दै हामीले पनि सिक्यौं । विस्तारै सर्प र सर्पको टोकाइबाट मानिसलाई पनि बचाउनुपर्छ भन्ने लागेर भाइ र म पनि लागेका छौं ।’ अहिले धेरै ठाउँबाट फोन आउँदा विशाल र उनका भाइ नै जान्छन्, उनीहरूले नभ्याएको अवस्थामा मात्र खेमलाल जान्छन् ।
बुवाको उमेर ५५ वर्ष भयो । ‘कसैले फोन गरे पनि बाबालाई कम पठाउँछौं,’ विशाल भन्छन्, ‘सबैभन्दा बढी म त्यसपछि भाइ हिँड्छ । हामी व्यस्त भएको बेला यही नजिक जानैपर्ने अवस्था भएमात्र बाबा जानुहुन्छ ।’
विशाल र विश्वासले पनि सर्प उद्धार गर्न थालेको १५ वर्ष पुग्न लाग्यो । यो बीचमा उनले पनि ३ हजार बढी सर्प उद्धार गरिसकेका छन् ।
एक हप्ताअघि बाबा खिमलाल, छोराहरू विशाल र विश्वासले तिलोत्तमाकै एउटै घरबाट २३ वटा विषालु गोमन सर्प उद्धार गरेका थिए । एउटै ठाउँबाट यति धेरै संख्यामा सर्प उद्धार गरेका तीन बाबुछोराकै पहिलो र दुर्लभ घटना हो । तर, संयोग नै मान्नुपर्छ । त्यही घरबाट १२ वर्षअघि ११ वटा सर्पका बच्चा उद्धार गरेको खिमलाल बताउँछन् ।
सर्प समातेर उद्धार गर्ने काम सजिलो होइन तर, तीन बाउछोराले ज्यान जोखिममा राखेर सेवा गरिरहेका छन् । उनीहरूको एउटै मान्यता छ- सर्पलाई मार्नु हुँदैन, जंगलमा छाड्नु पर्छ । किनभने सर्प पनि पारिस्थितिक प्रणालीको अभिन्न अंग हो ।
२३ वटा सर्प उद्धार गरेको घटनालगतै बुटवल– ११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिएका थिए । त्यसपछि देवदह नगरपालिका ८ टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा गोमन भेटिए । ती दुवै घरबाट पनि विशाल र विश्वासले सर्प उद्धारगरी जंगलमा लगेर छाडेका छन् ।
अहिले सर्प उद्धारको लागि विशाललाई दैनिक पाँच/सात ठाउँबाट फोन आइरहेका हुन्छ । कहिलेकाहीँ १८ ठाउँबाट समेत फोन आएको उनलाई स्मरण छ ।
सर्प उद्धारका लागि उनीहरू रूपन्देहीसहित नवलपरासी, पाल्पा, कपिलवस्तु र अर्घाखाँचीसम्म पनि पुग्ने गर्छन् ।
केही वर्ष जापान पनि बसेर आएका विशाल घर नजिकै ‘जापानिज ल्याङवेज’ पनि पढाउँछन् । ५५ वर्षीय खिमलाल वनबाटिकाको अध्यक्ष हुन् भने २७ वर्षका विश्वास वनबाटिकाकै ‘जीपलाइन’मा काम पनि गर्छन् । ‘इको सिस्टम’लाई सन्तुलनमा राख्न वातावरणका रहेका हरेक प्राणी बचाउनुपर्छ,’ विशाल भन्छन्, ‘सर्पलाई मार्ने होइन, उसलाई उद्धार गरेर जंगलमा लगेर छाड्नुपर्छ ।’
सर्प देख्नासाथ टोक्छ भनेर मारिहाल्ने प्रवृत्तिका कारण नेपालका सर्पको संख्या घटिरहेको खिमलालको भनाइ छ । सर्पबारे सही चेतना फैलाउन जरूरी रहेको उनी बताउँछन् । ‘सर्प शान्त स्वभावको हुन्छ । सर्पले टोक्दैमा आत्तिनु हुँदैन,’ खिमलाल भन्छन्, ‘उसलाई नचलाएसम्म आक्रमण गर्दैन, अथवा टोक्दैन । सर्प मानिसको साथी हो । उसले हाम्रो खेत–बारीका मुसा खाइदिएर बाली सपार्न सघाउँछ ।’
सर्पको पारिस्थितिकीय प्रणाली बुझेरै पुर्खाहरूले सर्पप्रति कृतज्ञता दर्शाउन नागपञ्चमी पर्व मनाउने गरेको हुन सक्ने उनको बुझाइ छ ।
तीन बाउछोराको कामलाई परिवार र छरछिमेकले पनि राम्रोसँग सहयोग र साथ दिएका छन् । उद्धारको क्रममा खिमलाल र विशाललाई पनि सर्पले एक/एक पटक टोकेका छन् ।
उनका अनुसार नेपालमा ९० प्रजातिका सर्प पाइन्छन् । जसमध्ये १९ प्रजातिका विषालु हुन्छन् । चुरे क्षेत्रमा पाइने राज गोमन सर्प सबैभन्दा विषालु हो । त्यस्तै, रसोस भाइपर विषालु हो । यो विश्वकै सातौं विषालु सर्पमा पर्छ ।
त्यसपछि गोमन विषालु सर्पमा पर्छ । गोमनलाई साइलेन्ट किलर पनि भनिन्छ । यसको टोकेको समेत थाहा पाइँदैन । तर, यसले टोक्नुभन्दा अघि फुल्लिने र आवाज फाल्ने गर्छ ।
पछिल्लो समय पहाडमा पनि विषालु प्रजातिका सर्प पुगिसकेका छन् । तराईबाट पहाडमा जाने पाइप, कार्टुन, इँटालगायत सामानको माध्यमबाट पहाडमा पनि विषालु सर्पको संख्या बढेको विशालको बुझाइ छ ।
सर्पमा चिसो रगत हुन्छ । जाडो महिनामा बाहिरको तापक्रममा बस्न नसक्ने हुनाले सर्प जमिनमुनि लुक्छ । गर्मीमा जमिन हिट भएपछि बाहिर निस्कने विश्वास बताउँछन् । बाहिर प्वालमा बस्दा वर्षायाममा पानी भरिएपछि जमिन र आहारको खोजीमा घरमा छिर्ने विश्वास बताउँछन् ।
पछिल्लो समय तराई/मधेशमा घरभित्र सर्प पस्ने र डस्ने क्रम बढिरहेको छ । बढ्दो शहरीकरण र वनजंगल विनाशका कारण सर्पको प्राकृतिक बासस्थान खुम्चिँदै गएपछि आफ्नो आहार र बासस्थान खोजीमा सर्पहरू मानव बस्तीतर्फ बढी देखिन थालेका छन् । खासगरी तराईंको चर्को गर्मी र वर्षायाममा सर्पहरू बढी ‘एक्टिभ’ हुन्छन् ।
सर्प बस्ने प्वालमा पानी भरिने र ओभानो र न्यानो ठाउँ खोज्दै घरभित्र पस्ने जोखिम हुन्छ । यो समय सर्पको प्रजनन् र बच्चा कोरल्ने समय पनि भएकाले सर्पका बच्चाहरू धेरै देखिने गर्छन् ।
सर्पले पृथ्वीमा मानिस जत्तिकै महत्व बोकेको हुन्छ, किनकी सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अभिन्न अंग हो । सर्पले स–साना कीराफट्यांग्रा, माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारीहरूको आहार गर्दछ भने चील, बाज़, न्याउरी मुसो आदि प्राणीले सर्प र तिनीहरूको अण्डा आहार गर्दछन् । यसरी नै इको सिस्टम सन्तुलन भइरहेको हुन्छ ।
सर्पले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वातावरण र जीवजन्तुहरूलाई फाइदा नै पुर्याइरहेको हुन्छ । बर्सेनि लाखौँ रुपैयाँ बराबरको बालीनाली नष्ट गर्ने मुसा र अन्य कीराफट्यांग्रा मार्न किसानहरूले विभिन्न पेस्ट कन्ट्रोल केमिकल प्रयोग गर्छन् । सर्पले प्राकृतिक तरिकाले नै यी मुसा र किराफट्यांग्रा खाइदिएर किसानको उत्पादन बढाइरहेको हुन्छ भने अर्कोतिर पेस्ट कन्ट्रोल केमिकलको प्रयोगमा कमी ल्याई वातावरण जोगाउन पनि मद्दत पुर्याइरहेको हुन्छ ।
धार्मिक तथा सांस्कृतिक महत्वको हिसाबले पनि सर्पसम्बन्धी धेरै किम्वदन्तीहरू छन् । सर्पको विष, एन्टी स्नेक भेनम बनाउन प्रयोग हुन्छ जुन फेरि सर्पकै टोकाइको उपचार गर्न प्रयोग गरिन्छ । मानिसको ज्यान बचाउन सक्ने अन्य धेरै औषधि बनाउन पनि सर्पको विष प्रयोग गरिने हुनाले सर्प बचाउनुपर्ने खिमलाल बताउँछन् ।
सर्पबाट जोगिन घर आँगन सफा राख्ने, घरवरपर झाडी हुन नदिने, दाउराको थुप्रो, परालको टौवा वा फोहोरमैला जम्मा हुन नदिनुपर्ने विशालको भनाइ छ ।
रातिको समयमा घर बाहिर निस्किँदा टर्चलाइट बाल्ने, खेतबारी वा झाडीमा जाँदा बुट लगाउने र सर्पलाई जिस्काउन नहुने उनी बताउँछन् । खाटमा सुत्ने र झुलको प्रयोग गर्ने, भुइँमा नसुत्ने र राति सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्न विशालको सुझाव छ ।