१३ असार २०८३, शनिबार

कहिले फुक्छ धरानमा बजेटको गाँठो ?, आठ पटक बैठक बस्दा पनि निष्कर्षविहीन

साउन ३, २०८२
विराटनगर
कहिले फुक्छ धरानमा बजेटको गाँठो ?, आठ पटक बैठक बस्दा पनि निष्कर्षविहीन

हर्क साम्पाङले नेतृत्व गरिरहेको धरान उपमहानगरपालिका यतिबेला बजेट शून्यतामा छ ।  नयाँ आर्थिक वर्ष शुरू भइसक्दा पनि  उपमहानगरपालिकाले बजेट ल्याउन नसक्दा नगरका गतिविधि ठप्प बनेका छन् । 

बजेट शून्यताका कारण प्रशासनिक र अत्यावश्यक खर्च समेत प्रभावित बनेका छन् ।  कतिसम्म भने बजेटको सीमा निर्धारण गर्न बसेको समितिको बैठक आठ पटकसम्म निष्कर्षविहीन बन्न पुगेको छ । जसले धरानमा बजेट अन्योलता बढाइरहेको छ । 

उपमेयर आइन्द्र बेघाका अनुसार, बजेटको आकार २ अर्ब नाघ्ने अनुमान गरिएको छ । ‘पहिले हामीले १ अर्ब ८९ करोडको बजेट बनाएका थियौं, तर अहिलेको छलफल अनुसार सीमा २ अर्ब नाघ्ने सम्भावना छ’,  बजेट तर्जुमा समितिका संयोजक समेत रहेका उपप्रमुख बेघाले भने । 

तर, यही सीमामा सहमति जुटाउन नसक्दा समस्या लम्बिएको छ । असार मसान्तभित्र पारित गरिसक्नुपर्ने बजेट साउन ३ गतेसम्म पनि अनिश्चित बनेको छ । 

बजेट नआउनुमा को जिम्मेवार छ ? भन्ने प्रश्नमा उपमेयर बेघाले कुनै एक व्यक्ति वा पक्षलाई दोष दिन नमिल्ने बताए  । ‘यो हामी सबैको कमजोरी हो, जिम्मा हामी सबैले लिनुपर्छ । कसैले नमानेरै यस्तो भएको हो,’ उनले भने ।

उनले नगर प्रमुख साम्पाङसँग झगडा नगरेको समेत बताएका छन् ।  समस्या कहाँ छ, त्यो पहिचान गरेर निदान खोज्नु पर्ने उनी बताउँछन् । 

धरानमा कार्यालय सञ्चालनका लागि चाहिने इन्धन, मर्मत, मसलन्द जस्ता अत्यावश्यक खर्च रोकिएका छन् ।  कर संकलनमा समेत अन्योलता छाएको छ । नयाँ आर्थिक वर्षका लागि करको दर निर्धारण हुन नसकेपछि उपमहानगरपालिकाले कर उठाउन पाएको छैन ।  

आठौं पटकसम्म असफल भएको बैठकपछि अब नवौं बैठकको तयारी भइरहेको छ । ‘अब बस्ने नवौं बैठकले निष्कर्ष देला भन्नेमा आशावादी छौं ।  बजेटको आकारको एउटा खाका त बनिसकेको छ’, उपमेयर बेघाले भने ।

करार तथा ज्यालादारी कर्मचारीको म्याद थप गर्ने निर्णय भने कार्यपालिकाको बैठकले गरिसकेको बेघाले बताए । 

मेयर, उपमेयर र कार्यपालिकाका सदस्यहरूबीच नीतिगत विषयमा साझा धारणा नबन्दा समस्या भएको धरानवासीहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्