२८ जेठ २०८३, बिहीबार

पोलिटब्यूरो बैठकमा बहुसंख्यकको धारणा- विद्याको नेतृत्व स्वीकार्न सकिँदैन

साउन ३, २०८२
काठमाडौं
पोलिटब्यूरो बैठकमा बहुसंख्यकको धारणा- विद्याको नेतृत्व स्वीकार्न सकिँदैन

नेकपा एमालेले पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले नै (आउँदो महाधिवेशनमा) अध्यक्ष नस्वीकार्ने भएको छ ।

शुक्रबार र शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा बोल्ने अधिकांश नेताहरूले उनलाई अहिले नै अध्यक्ष स्वीकार्न नसकिने धारणा राखे ।

‘अधिकांश साथीहरूको भनाइ के छ भने संविधानको संरक्षक र पालक भइसकेको, सेनाको परमाधिपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गम्भीर हो भन्ने कुरा भयो । अहिले नै उहाँलाई पार्टी अध्यक्ष बनाएर जाने कुरा गाह्रो छ भन्ने निष्कर्ष आयो’, बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । 

तर, विद्याका विषयमा बैठकमा कुनै निर्णय नभएको उनले बताए । पार्टीको यो भन्दा ठूलो फोरमबाट उचित समयमा आवश्यक निर्णय लिने बैठकले निष्कर्ष निकालेको गौतमले बताए । 

‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौं भन्नुभएको’, गौतमले भने ।

भण्डारीको सदस्यता नवीकरण पनि पेन्डिङ अवस्थामा रहेको उनले बताए । 

‘सदस्यताका सम्बन्धमा पार्टी विधानको धारा ८, धारा ९ आकर्षित भएको छ । यो धाराको व्याख्यापछि पार्टीले उचित समयमा आवश्यक निर्णय लिन्छ । तर, अहिले स्थगन छ भन्ने हो’, गौतमले थपे । 

उनले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा प्रवेश गर्न दिँदैछैन भन्नु अफबाह रहेको बताए । तर, भण्डारी राजनीतिमा आउँदा उनले यसअघि लिएको राष्ट्रपति पदको गौरव के होला भन्ने चिन्ता अधिकांश नेताहरूमा रहेको गौतमले बताए । यो कुरामा पार्टी गम्भीर रहेको समेत उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्