
विश्वको अग्लो स्थानमा अवस्थित तिलिचो तालमा सौर्य ऊर्जामार्फत विद्युत् प्रवाह गरिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित समुद्र सतहबाट चार हजार ९४९ मिटर उचाइमा रहेको पर्यटकीयस्थल तिलिचो तालमा सौर्य ऊर्जामार्फत् विद्युत् आपूर्ति गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले तीन सय ९० वाटको सौर्य प्यानल राखेर तिलिचो तालमा विद्युत् प्रवाह गरेको जनाएको छ । विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख राजु महतोले केही दिन अघिदेखि सौर्य प्यानलको व्यवस्था गरी तिलिचो ताल क्षेत्रलाई उज्यालो बनाइएको जानकारी दिए ।
उनले भने, “चिसोले ताल पुग्नु अगाडि मोबाइल बन्द (अफ) हुनसक्छ । अहिले बत्ती पुगेपछि पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको छ ।” ङिस्याङ–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प)सम्म भने यसअघि नै राष्ट्रिय प्रसारणलाइनको बिजुली पुगिसकेको उनले जानकारी दिए ।
बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् प्रवाह गरिएको प्रमुख महतोले बताए ।
प्राविधिकरणले बस्ती भएको स्थानसम्म राष्ट्रिय प्रसारणलाइन जडान भएको जनाएको छ । बेसक्याम्पसम्म सहज रूपमा उज्यालो हुनुका साथै विद्युतीय कार्यमा सजिलो बनाइएको प्राधिकरणले जनाएको छ ।