
लोकान्तर राउण्ड अपमा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ
नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ।
शनिबार सम्पन्न पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
गौतमले भने, विधान संशोधनसम्बन्धी प्रस्ताव पोलिटब्युरो बैठकले पारित गरेको छ। सामान्य सुझावहरू समेटेर उक्त प्रस्ताव स्वीकार गरिएको हो। त्यसमा पार्टीभित्रको दुई सदस्यताको व्यवस्था र ७० वर्षे उमेरहदको व्यवस्था खारेज गर्ने विषय प्रमुख छन्।
००००
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभइसकेको स्पष्ट पारेको छ ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता हालसम्म नवीकरण नभएको बताएका हुन् ।
पार्टीको दुई दिने पोलिटब्युरो बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता विषयमा छलफल हुने जानकारी दिँदै हाल त्यो प्रक्रिया ‘पेन्डिङ’ अवस्थामा रहेको बताए।
००००
हर्क साम्पाङले नेतृत्व गरिरहेको धरान उपमहानगरपालिका यतिबेला बजेट शून्यतामा छ । नयाँ आर्थिक वर्ष शुरू भइसक्दा पनि उपमहानगरपालिकाले बजेट ल्याउन नसक्दा नगरका गतिविधि ठप्प बनेका छन् ।
बजेट शून्यताका कारण प्रशासनिक र अत्यावश्यक खर्च समेत प्रभावित बनेका छन् । कतिसम्म भने बजेटको सीमा निर्धारण गर्न बसेको समितिको बैठक आठ पटकसम्म निष्कर्षविहीन बन्न पुगेको छ । जसले धरानमा बजेट अन्योलता बढाइरहेको छ ।
००००
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जारी पोलिटब्यूरो बैठकमा नेताहरूबीच कुनै भनाभन नभएको बताएका छन् । उनले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको पनि बताए ।
केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकको हलबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै तामाङले बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपुर रूपमा स्वतन्त्र भएर राखेको दाबी गरे ।
००००
बंगलादेशको ढाकामा जारी साफ यू २० महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले भुटानविरुद्ध सानदार जीत निकालेको छ।
शनिबार किङ्स एरिनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
००००
नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले हालै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भेटबारे प्रश्न उठाएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा शनिबार धारणा राख्दै उनले वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलाएको पनि दाबी गरे।
००००
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झापामा एक जना पक्राउ परेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका(९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
००००
मधेश प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१।८२ मा लामो चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ ।
उक्त निर्देशनालयबाट प्राप्त जानकारीअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा एक सय ७५ हेक्टर, सप्तरीमा एक सय ११ हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौतहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् । उनले चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका छन् ।
००००
बचतकर्ताको झण्डै १७ करोड रकम अपचलन गरेर फरार भएका रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापालगायत सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।