२२ असार २०८३, सोमबार
महिला युरो कप फुटबल

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई हराउँदै आठपटकको च्याम्पियन जर्मनी सेमिफाइनलमा

साउन ४, २०८२
काठमाडौं
प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई हराउँदै आठपटकको च्याम्पियन जर्मनी सेमिफाइनलमा

प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्विट्जरल्यान्डमा जारी महिला युरो कपको १४औं संस्करणको क्वार्टरफाइनलमा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराएको हो ।

प्रतियोगिताको बुधबार हुने सेमिफाइनलमा जर्मनीले स्पेनको सामना गर्नेछ । त्यसअघि मंगलबार पहिलो सेमिफाइनल खेल इङ्ल्यान्ड र इटालीबीच खेलिने छ । क्वार्टरफाइनलमा स्पेनले आयोजक स्विट्जरल्यान्डलाई २–० गोलले हराएको थियो ।

इटालीले क्वार्टरफाइनलमा नर्वेमाथि २–१ गोलको रोमाञ्चक जीत हासिल गरेको थियो भने इङ्ल्यान्डले स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पाखा लगाएको थियो । 

इङ्ल्यान्ड साविक विजेता हो । अघिल्लो सिजनको फाइनलमा इङ्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ गोलले हराएको थियो ।

जर्मनी र फ्रान्सबीचको बासेलमा खेलिएको अन्तिम क्वार्टरफाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसबाट पनि नतिजा नआएपछि हार–जीतका लागि पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।

निर्धारित समयको १५औं मिनेटमा फ्रान्सले अग्रता लिएको थियो । फ्रान्सका लागि ओनेमा ग्रेस गेयोरोले पहिलो गोल गरिन् । त्यसअघि नै जर्मनी १० खेलाडीमा समेटिएको थियो । १३औं मिनेटमा जर्मनीकी क्याथरिन हेनरिच रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।

१० खेलाडीमा समेटिए पनि खेलभर जर्मनीले फ्रान्सलाई दबाबमा राखेको थियो । निर्धारित समयको २५औं मिनेटमा जर्मनीका लागि स्जोक नुस्केनले जवाफी गोल गरिन् । त्यसपछि निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन सकेन ।

अन्ततः खेल पेनाल्टी सुटआउटमा गयो र जर्मनी सेमिफाइनलमा पुग्न सफल भयो । 

जर्मनी महिला युरो कपको सबैभन्दा सफल टोली पनि हो । जर्मनीले हालसम्म आठपटक महिला युरो कपको उपाधि जितिसकेको छ । जर्मनी एक पटक उपविजेता पनि बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्