
सिरियाको दक्षिणी क्षेत्रमा ड्रुज र बेडुइन समुदायबीचको घातक साम्प्रदायिक झडप जारी नै रहेको छ । यद्यपि, राष्ट्रपति अहमद अल-शराअले ‘तत्काल युद्धविराम’को घोषणा गरिसकेका छन् ।
शनिबार ड्रुज लडाकुहरूद्वारा बेडुइन सशस्त्र समूहलाई सुवेइदा शहरबाट पछाडि धकेलिएको विभिन्न रिपोर्टहरूमा उल्लेख छ । तर, बीबीसीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । सुवेइदा प्रान्तका अन्य भागहरूमा भने अझै पनि भिडन्त जारी रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
अन्तरिम राष्ट्रपति अहमद अल-शराअले सुरक्षाफौज पठाएपछि उल्टै ती फौजले ड्रुज समुदायमाथि आक्रमणमा साथ दिएको आरोप लागेको छ । पछिल्ला केही दिनमा मात्र ९ सयभन्दा बढी मानिस मारिएको बताइएको छ । सबै पक्षले गम्भीर मानवअधिकार उल्लंघन गरेको आरोप लागेको छ ।
अमेरिकी दबाब र इजरायली हस्तक्षेप
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले शनिबार सामाजिक सञ्जाल एक्स(पूर्व ट्विटर)मा लेख्दै सिरियामा निष्पाप नागरिकहरूमाथि बलात्कार र हत्याको अन्त्य गर्न आह्वान गरेका छन् ।
उनले सिरियाली अधिकारीहरूलाई लक्षित गर्दै लेखेका छन्, ‘यदि दमास्कसस्थित सरकारले सिरियालाई समावेशी, एकीकृत, शान्तिपूर्ण, आइसिस र इरानको प्रभावमुक्त बनाउने चाहना राख्छ भने उनीहरूले आइसिस र अन्य अतिवादी जिहादीहरूलाई त्यहाँ प्रवेश गरी नरसंहार गर्न नदिने गरी आफ्ना सुरक्षाकर्मी परिचालन गर्नुपर्छ ।’
साथै, उनले सरकारका आफ्नै पंक्तिमा रहेका मानवताविरुद्ध अपराध गर्नेहरूलाई समेत न्यायको कठघरामा ल्याउनुपर्ने माग गरेका छन् ।
यसैबीच, सिरियाको गृह मन्त्रालयले शनिबार साँझ सुवेइदामा झडप रोकिएको दाबी गरेको छ । तर, समाचार संस्था रोयटर्सका अनुसार प्रान्तका अन्य भागमा भिडन्त रोकिएको छैन ।
इजरायलले यसअघि नै ड्रुज समुदायको पक्षमा उभिँदै दमास्कसमा रहेको सरकारका सैनिक ठेगाना र रक्षा मन्त्रालयलाई निशाना बनाएको थियो ।
युद्धविराम प्रयास, तर शंका कायमै
राष्ट्रपति शराअले शनिबार युद्धविरामको घोषणा गर्दै सुवेइदामा सुरक्षाकर्मी पठाउने निर्णय गरेका थिए । यो सम्झौतामा इजरायली हवाई आक्रमण रोक्ने प्रावधान पनि समेटिएको थियो, जुन सम्झौता अमेरिका माध्यमबाट भएको बताइएको छ । शर्त थियो- ड्रुज समुदायको सुरक्षा सुनिश्चित गरिनुपर्छ ।
सरकारी फौजले नयाँ भिडन्त रोक्न चेकपोइन्टहरू राख्न थाले पनि शनिबार सुवेइदा शहरमै गोली चलिरहेको खबर आएको छ ।
यसैदिन, इजरायलका विदेशमन्त्री गिडियोन सारले राष्ट्रपति शराअले सबै अल्पसंख्यक र नागरिकको सुरक्षा गर्ने घोषणा माथि शंका व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिरियामा अल्पसंख्यक भएर बस्नु निकै खतरनाक छ, पछिल्लो ६ महिनामा यो कुराको बारम्बार पुष्टि भइसकेको छ ।’
ड्रुज समुदाय इस्लामको शिया सम्प्रदायसँग सम्बन्धित, तर विशिष्ट र गोप्य धार्मिक विश्वास भएको समूह हो । उनीहरू सिरियामा अल्पसंख्यकमा छन्, जसरी इजरायल र लेबनानमा पनि छन् । सिरियाली सरकारप्रति उनीहरूमा गहिरो अविश्वास रहँदै आएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियामा रहेका ड्रुजहरूमाथि आक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन्, किनभने इजरायलमा रहेका ड्रुजहरूसँग उनीहरूको ऐतिहासिक र पारिवारिक सम्बन्ध छ ।