१९ असार २०८३, शुक्रबार

निर्धारित समयभन्दा पाँच महिना अघिनै कुम्लेखोलाको पुल सम्पन्न

साउन ४, २०८२
काठमाडौं
निर्धारित समयभन्दा पाँच महिना अघिनै कुम्लेखोलाको पुल सम्पन्न

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्माणाधीन पक्की पुल निर्धारित समयभन्दा पाँच महिना अगावै सम्पन्न भएको छ।
विसं २०८२ पुस १३ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार कार्य अगाडि बढाइए पनि निर्माण कम्पनी वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालिले समयभन्दा पाँच महिना पहिल्यै पुल निर्माण पूरा गरेको हो। निर्माण समयमै सकिएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
पृथ्वी राजमार्गबाट करिब तीन किलोमिटर दूरीमा पर्ने प्रसिद्ध तीनखोले देवी मन्दिरतर्फ जाने मोटरमार्गमा पर्ने कुम्लेखोलामा पक्की पुल निर्माणपछि वर्षायाममा हुने सास्तीको अन्त्य भएको स्थानीयवासी बालकुमार वाग्लेले बताए।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत निर्माण गरिएको डबल सेल बक्स डिजाइनको उक्त पुलको लागत रु २ करोड ८० लाख ५९ हजार ९७९ रहेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए।
पुल उद्घाटनका क्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले समयमै सम्पन्न भएको पुल निर्माण कार्य उदाहरणीय भएको उल्लेख गरे। उनले यस किसिमका कामले विकास निर्माणप्रति जनविश्वास बढ्ने बताए।
स्थानीयवासी शंकर सारुका अनुसार, विगतमा निर्माण कम्पनीहरूले पटक–पटक म्याद थपेर काम ढिलो गर्ने प्रवृत्ति रहेको सन्दर्भमा समयअगावै पुल निर्माण सम्पन्न हुनु सकारात्मक उपलब्धि हो।
तीनखोले देवी मन्दिर जाने मुख्य मार्गमा पुल निर्माण भएपछि भक्तजनको आवागमन सहज हुने र आगन्तुकको सङ्ख्यामा वृद्धि हुने विश्वास मोटरमार्ग उपभोक्ता समितिका अध्यक्षसमेत रहेका वाग्लेले व्यक्त गरे।
वडाध्यक्ष बुद्धिबहादुर थापाका अनुसार, विगतमा बर्खामा ह्युमपाइप राखेर अस्थायी रुपमा यातायात चलाइन्थ्यो तर खोलामा पानी बढ्दा ती पाइपहरू बगाउने समस्या थियो। अब पक्की पुल बनेपछि सो समस्या अन्त्य भएको छ।

salt training

कमेन्ट गर्नुहोस्