
गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए ।
आव २०८०/८१ मा एक लाख १९ हजार १८७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । उनले भने, ‘‘पछिल्लो तथ्याङ्क हेर्दा सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।’’ गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।
सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् ।