०९ साउन २०८३, शनिबार

दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै

साउन ५, २०८२
बाग्लुङ
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन चारवर्षसम्म अधुरै

निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ । अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । 

अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको छ भने भित्तामा घाँस उम्रेको हो । दु

ई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीनपटक म्याद थप्दासमेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । 

भवन निर्माणका लागि तेस्रोपटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ । पटक–पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र सङ्घीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इञ्जीनीयर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले नगरपालिकाबाट गरेको फोनसमेत नउठाउने गरेको पाइएको छ । नगरपालिकाले चेतावनीपत्र पठाउने तयारी थालेको उनको भनाइ छ ।

अस्पताल भवन निर्माणमा ढलानको काम मात्रै सकेर निर्माण व्यवसायीले अलपत्र पारेर छोडेको छ । १२ करोडको भवनमा फ्याट्टफुट्ट कामदार लिएर काम गर्दा भवनले गति नलिएको हो । भवनको ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इञ्जीनीयर घर्तीको भनाइ छ । 

बागलुङ–१३ पैँयूपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल दुई वर्षभित्र निर्माण सक्नेगरी २०७८ मा सम्झौता भएको थियो । 

बागलुङ नगरपालिकाका इञ्जीनीयर सोविन घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी सम्झौता भए पनि तीन पटक म्याद थप हुँदासमेत ५६ प्रतिशत प्रगति भएको बताए । बागलुङ नगरपालिकाले अस्पताल भवन निर्माणका लागि १२ करोड ८७ लाखमा श्री महालक्ष्मी/जुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो ।

काम गरेको भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी नरेश ओझाले जानकारी दिए । 'काम गर्दा समयमै भुक्तानी पाइँदैन बर्खामा सामग्री ढुवानीमा समस्या हुन्छ, गलुवाको पहिरोका कारण अहिले इँटा ढुवानीमा समस्या भएको छ,' उनले भने ।
 
छ महिनाभित्र काम सक्नेगरी निर्माणलाई तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेको भए पनि काममा आउने फर्कने र पाँच/छजना कामदार मात्रै खटाउने गरेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष  नारायण पौडेलले बताए ।  

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो लाग्न नसकेको हो ।  सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । 

बागलुङ नगरपालिकाको रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्