
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरा अस्वाभाविक र अप्राकृतिक हुने बताएका छन् । उनले भण्डारीको सदस्यता रिन्यु भइसकेको भनेर कतिपय नेताले दिएका प्रतिक्रिया आपत्तिजनक भएको बताए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार शुरू केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुरालाई स्वभाविक मान्न नसकिने बताएका हुन् । ‘पूर्वराष्ट्रपतिज्यूसँग हिजो यही भेट भयो, पार्टीको म्यान्डेटअनुसार नै मैले कुरा गरेको हो । मैले बालुवाटारमा भेटौं भनेको थिएँ, उहाँले पार्टी कार्यालयमा भेटौं भनेपछि हामीले कुरा गरेका हौं,’ ओलीले भने, ‘तर यहाँ बाहिर जसरी नेताहरू प्रवक्ताले जस्तै बोल्नुभयो, त्यसले राम्रो सन्देश गएको छैन ।’
ओली विद्या भेट भइरहेको समयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टी कार्यालय बाहिर प्रतिक्रिया दिएका थिए । त्यसक्रममा उनीहरूले भण्डारीको सदस्यता २ वर्ष अघि नै रिन्यु भएको दाबी गरेका थिए ।

ओलीले यसबारे बैठकमा गम्भीर आपत्ति जनाएका हुन् । ‘पार्टी (सचिवालय)को म्यान्डेटअनुसार मैले पूर्वराष्ट्रपतिसँग भेट गरें, तर यहाँ केही नेताले प्रवक्ताले जस्तो तथानाम बोल्नुभयो । यसले पार्टी पंक्तिमा राम्रो सन्देश गएको छैन,’ ओलीले भने ।
झण्डै १ घण्टा लामो मन्तव्यका क्रममा ओलीले पूर्वराष्ट्रपति राजनीतिमा आउन नमिल्ने कुरालाई जोड दिएका थिए । ‘विश्वको कुनै देशमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किएको उदाहरण दिएर हाम्रोमा मिल्छ ? यहाँको वस्तुस्थिति र समाजको भावना बुझ्नु पर्दैन ? सक्रिय राजनीतिमा फर्किन खोज्नेले बुद्धिजीवी र वकिलसँग परामर्श गर्न पर्दैन ?,’ ओलीले प्रश्न गरे ।
राष्ट्रप्रमुख र सेनाको परमाधिपति भइसकेको व्यक्ति पुन: राजनीतिमा फर्किने कुराले युवामा निराशा र आक्रोश बढ्ने ओलीले बताए । ‘यस विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं, तर राजनीतिलाई धमिलो बनाउने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन,’ ओलीले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किने कुराले पार्टी, लोकतन्त्र र मुलुक नै कमजोर हुनेछ । त्यो गलत नजिर हामीले बसाल्नु हुँदैन ।’
ओलीले नेकपा एमालेलाई कमजोर बनाउन राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरू लागिपरेको समेत आरोप लगाए । त्यसलाई चिरेर आफूहरूले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा जुटेको उनले उल्लेख गरे ।
