
सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा कैद सजाय तोकिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
तिमल्सिनालाई इटहरीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले लोकान्तरलाई जानकारी दिए ।
सर्वोच्च अदालतका न्यायाधीश, कानून व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएपछि सर्वोच्च अदालतले तिमल्सिनालाई दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको थियो ।
त्यसयता उनी फरार रहँदै आएका थिए । सर्वोच्चले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्तविना ६ महिनाको कैद सजाय सुनाएको थियो ।
सर्वोच्चका ९ न्यायाधीश सम्मिलित वृहत् पूर्ण इजलासले तिमल्सिनालाई फेक अडियो बनाएको ठहर गर्दै रकम तिरेर कैदबाहिर बस्ने सुविधासमेत नपाउने गरी गत वर्ष असोज १३ गते फैसला सुनाएको थियो ।