१० साउन २०८३, आइतबार
पूर्व राष्ट्रपति राजनीतिमा आउने विषय

विद्याको विषयलाई लिएर देउवा निवासमा ठट्टा– ५५ वर्षमै राष्ट्रपति बनाएपछि भोक जागिहाल्छ नि !

साउन ६, २०८२
काठमाडौं
विद्याको विषयलाई लिएर देउवा निवासमा ठट्टा– ५५ वर्षमै राष्ट्रपति बनाएपछि भोक जागिहाल्छ नि !

७ वर्ष राष्ट्रपति भएपछि विद्यादेवी भण्डारी पुन: राजनीतिमा फर्किएको विषयले एमाले त तरंगित छ नै, कांग्रेसभित्र समेत यो विषय लगातार उठ्न थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा चासो राखेका थिए । सेनाको परमाधिपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किने वातावरण कसरी बन्यो ? भन्दै देउवाले गम्भीर प्रश्न उठाएका थिए ।

एमालेको सचिवालय, पोलिटब्युरो हुँदै जारी केन्द्रीय कमिटी बैठक यसै विषयमा केन्द्रित छ । अर्थात्, राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किने कुरामा तर्क–वितर्क जारी छ । ओलीले आइतबार भण्डारीसँग भेटेरै ‘तपाईं सम्माननीय राष्ट्रपति’ भएर बस्नुस् भनेका थिए ।

केही समयअघि कांग्रेसको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पायो । महामन्त्री विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, डा. गोविन्दराज पोखरेलसहितका थुप्रै नेताले यो विषयमा पार्टीले औपचारिक निर्णय लिनुपर्ने बताए । अर्का महामन्त्री गगन थापा समेतले पूर्व राष्ट्रपति राजनीतिमा फर्किने कुरा अनुचित भएको लोकान्तरसँगको कुराकानीमा बताएका थिए ।

पछिल्लो समय पार्टीमा दबाब समूहको रूपमा संगठित ७ पूर्व पदाधिकारीले पनि यो विषयमा छलफल गरेका छन् । सोमबार पूर्व उपसभापति प्रकाशमान सिंहको निवासमा जुटेका ७ नेताले भण्डारीको विषयमा समेत छलफल गरेका थिए ।

यो सहित त्यहाँ भएको समग्र छलफलको निचोड सुनाउन मंगलबार बिहान ५ नेता देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । विमलेन्द्र निधि र डा. शशांक कोइरालाबाहेकका ५ नेता देउवा निवास पुगेका हुन्, जसमा प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी थिए ।

छलफलमा सहभागी नेता गोपालमान श्रेष्ठले अघिल्लो दिनको निष्कर्ष सुनाउन सभापतिको निवास पुगेको जानकारी दिए । ‘हिजो हामीले सरकारको एक वर्ष, गठबन्धन, संविधान संशोधन, कांग्रेसको आन्तरिक राजनीतिसहित थुप्रै कुरामा छलफल गरेका थियौं,’ श्रेष्ठले भने, ‘एक वर्षमा सरकारको कामभन्दा भ्रष्टाचार र अनियमितता धेरै भए । संविधान संशोधनको काम नै अगाडि बढेन । नियुक्तिमा मनोमानीदेखि विधेयकमा मनपरी हुनेसम्मका घटना भएपछि यी विषयमा ध्यानाकर्षण गराएका हौं ।’

देउवा निवासमा ५ नेताको तर्फबाट पनि पूर्व राष्ट्रपतिको विषयमा कुरा उठेको नेता श्रेष्ठले जानकारी दिए । यही विषयको छलफलमा आफूले नै पूर्व राष्ट्रपतिको विषयलाई लिएर जोक गरेको उनले बताए । 

‘एमालेबाट दुई–दुईपटक राष्ट्रपति भएकी विद्यादेवी भण्डारी फेरि पार्टीमा सक्रिय हुने कुरा आएको छ । सबैभन्दा ठूलो पद सम्मानित राष्ट्रपतिमा पुगिसकेको व्यक्ति फेरि राजनीतिमा फर्किँदा यसले गणतन्त्रलाई कमजोर बनाउँछ । संविधान र व्यवस्थामाथि नै प्रश्न उठ्छ भनेर छलफल गर्‍यौं,’ श्रेष्ठले भने, ‘यही क्रममा सिरियस कुरालाई म आफैंले जोकको हिसाबमा उमेरको कुरा उठाएको थिएँ ।’

उमेर नै नपुगिकन भण्डारीलाई राष्ट्रपति बनाइदिँदा अहिलेको परिणाम आएको श्रेष्ठको भनाइ थियो ।

‘भण्डारीलाई ५५ वर्ष नहुँदै राष्ट्रपति बनाइदिनुभयो । अनि ६३ वर्षमा आएर फेरि सक्रिय राजनीति गर्ने मोह जाग्यो,’ श्रेष्ठले भने, ‘कम्तीमा ७० वर्ष पुगेपछि राष्ट्रपति बनाउने अभ्यास गरेको भए ५ वर्षमा ७५ वर्ष पुग्थ्यो, अनि सक्रिय राजनीतिको भोक आउने थिएन कि भनेर मैले जोकको रूपमा भनेँ । तर, कुरा सिरियस छ ।’

नेता श्रेष्ठ पूर्व राष्ट्रपति राजनीतिमा आउने कुरामा सभापति देउवा पनि चिन्तित रहेको बताउँछन् ।

‘पूर्व राष्ट्रपति राजनीतिमा फर्किने कुरालाई लिएर हाम्रो सभापतिले पहिलेदेखि नै चिन्ता व्यक्त गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘सम्मानित ठाउँमा बसेको व्यक्ति राजनीतिमा आएर गणतन्त्रको खिल्ली उडाउनुहुँदैन भन्ने मत उहाँको छ ।’

आफूहरूलाई बेवास्ता नगर्न एकस्वर

छलफलमा सहभागी नेताहरूले पार्टीका महत्वपूर्ण विषय र निर्णयमा आफूहरूलाई बेवास्ता नगर्न सभापतिको ध्यानाकर्षण गराएका छन् । आफूहरू पनि जिम्मेवार नेता भएको भन्दै उनीहरूले बेला–बेलामा परामर्श गर्न सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले कांग्रेसका संगठन र भ्रातृ संस्थालाई चुस्त बनाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ‘संगठन चुस्तदुरुस्त बनाउनुपर्‍यो । कार्यकर्तालाई मात्रै होइन, पब्लिकलाई पनि हामीले कार्यक्रम बुझाउन सक्नुपर्छ । रुपन्देहीमा चुनाव आउँदैछ । यसमा कसरी अगाडि बढ्ने ? अघिल्लोपटक हारेकाले यसपटक राम्रा उम्मेदवार उठाउनुपर्छ भन्ने हाम्रो मत छ,’ श्रेष्ठले भने ।

गोपालमान र विजयकुमार गच्छदार दुवैले आफूहरूले पार्टीमा ठूलो योगदान र त्याग गरेको दाबी गरेका थिए । ‘पुराना कुरा सम्झाउने काम विजयजीले गर्नुभयो । दुई पार्टी हुँदा मात्र होइन, सभापति जेलमा हुँदा पनि मिलेर काम गर्‍यौं । हामीले तपाईंलाई अप्ठ्यारोमा सभापति बनायौं भन्नुभयो,’ श्रेष्ठले भने, ‘हामीलाई पनि न्याय भएन न्याय दिनुस् भनेका छौं ।’

नेता श्रेष्ठले आफूलाई सभापति बनाउने वचन दिएको विषय पनि सम्झाएको बताए । 

‘१४ औं महाधिवेशन मलाई ड्रप गराउँदा मलाई अहिले सहयोग गर्नुस्, १५ औंमा सभापतिको उम्मेदवारमा तपाईंलाई अगाडि सार्छु भन्नुभएको थियो,’ गोपालमानले भने, ‘तर, अहिलेसम्म तपाईंले मुख खोल्नु भएको छैन, यसैले सम्झाउन आएको हो । विस्तारै माहोल बनाउनुस् ।’

तर, देउवाले कुनै प्रस्ट जवाफ नदिएको श्रेष्ठ बताउँछन् ।

सरकारको कार्यसम्पादनका विषयमा देउवाले अप्ठ्यारो आए फुकाउँदै जाने बताएका थिए ।

‘सरकारले इमान्दारीपूर्वक काम गर्ने कुरा गरेको छ । यसैले हामीसँगै सरकारका छौं,’ देउवाले भनेका थिए, ‘गठबन्धन सरकार भएपछि केही समस्या आउन सक्छन् । तर, सबै कुरा छलफलबाट सहमतिमा टुंगिन्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्