२४ असार २०८३, बुधबार

‘आफ्नालाई जोगाउने’ गलत प्रवृत्तिको अन्त्य पार्टीभित्रैबाट शुरू गर्नुपर्छ : गगन थापा

'मैले गल्ती गरें भने मलाई संरक्षण नगर्नुस्'
साउन ६, २०८२
काठमाडौं
‘आफ्नालाई जोगाउने’ गलत प्रवृत्तिको अन्त्य पार्टीभित्रैबाट शुरू गर्नुपर्छ : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा व्याप्त ‘आफ्नालाई जोगाउने’ गलत प्रवृत्तिको अन्त्य पार्टीभित्रैबाट शुरू गर्नुपर्ने बताएका छन् । कुनै गलत काम वा भ्रष्टाचार गरेमा पार्टीका कार्यकर्ताले संरक्षण नगरी कानूनको कठघरामा उभ्याउन सघाउनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेस चितवनले बीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, 'मैले सार्वजनिक ओहदामा रहँदा कुनै कमजोरी गरें, बदनियत राखेर गलत गरें वा भ्रष्टाचार गरें भने, त्यो बेलामा तपाईंहरूले मेरो संरक्षण गर्ने होइन । तपाईंहरू निरपेक्ष रहनुपर्छ र भन्नुपर्छ- कानुनको शासन भएको देशमा कानुनले जे भन्छ, त्यही हुनुपर्छ ।'

महामन्त्री थापाले नेता वा पार्टीको गल्तीमा आँखा चिम्लने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाएको बताए ।

उनको यो भनाइले कार्यक्रममा उपस्थित कार्यकर्ताहरूलाई स्तब्ध भएका थिए । समकालीन राजनीतिमा नेताहरूमाथि आरोप लाग्दा पार्टी पंक्ति बचाउमा उत्रने परम्पराविपरीत थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

महामन्त्री थापाले बीपी कोइरालाको राजनीतिक आदर्शको केन्द्रमा नैतिक बल रहेको स्मरण गराए । 'हामी बीपीबाट के सिक्ने भनेर भन्छौँ । उहाँले सिकाएको सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो,' उनले भने, 'सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत नै कांग्रेसको वास्तविक शक्ति हो । यो हिम्मत चुनावको हिसाबकिताबभन्दा धेरै माथि छ ।'

उनले कार्यकर्ताहरूलाई चुनावको अत्यधिक चिन्ता गरेर लोभी नबन्न र सत्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरे । 'चुनावको चिन्ता भनेको लोभी हुनु हो, डराइन्छ,' थापाले भने, 'तर हामी डराउने होइन । मनमा लागेको कुरा गर्ने हो, सत्यको पक्षमा उभिने हो । त्यो हिम्मत राख्न सक्नुपर्ने नेपाली कांग्रेस पार्टीका प्रत्येक साथीलाई आवश्यक छ ।'

महामन्त्री थापाले पार्टीका गल्ती र कमजोरीलाई स्वीकार्दै र सच्याउँदै अघि बढ्नुपर्ने बताए । उनले भने, 'हाम्रा गल्तीहरूलाई स्वीकार गरौँ, कमजोरीहरूलाई स्वीकार गरौँ र आफूलाई सच्याऊँ । घरभित्रको फोहोर सफा गरेर नागरिकहरूसँग संवादमा जाऔँ ।'

salt training

कमेन्ट गर्नुहोस्