
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि सबैमाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्नै उनले घुस प्रकरणमा जोडिएका एक मन्त्रीले राजीनामा दिइसक्दा पनि अर्का मन्त्री पदमै बसिरहेकोमा प्रश्न उठाएका छन् । कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उनको भनाइ छ ।
यस्तो सन्दर्भमा एमालेले भूमिसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट पास गर्न खोज्नुले शंका उब्जाएको उनले उल्लेख गरेका छन् ।
'पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ,' उनले लेखेका छन्, 'यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन । पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलियामाथि निष्पक्ष छानबिन गरौं, भूमि विधेयकमा समितिमा गहन छलफल गरौं ।'
घुस प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । तर, सोही प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने राजीनामा दिएका छैनन् ।