
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति विपरीत सदस्यता नवीकरणको विषय सार्वजनिक गरेको बताएका छन् ।
सहमति विपरीत सदस्यता सार्वजनिक गरेपछि केन्द्रीय कमिटीको बैठकबाट निर्णय गर्नुपरेको बताएका हुन् ।
‘सदस्यता नवीकरण भएपछि सार्वजनिक नगरौं, यो विशेष विषय हो, उपयुक्त समयमा सार्वजनिक गरौं भन्ने सहमति थियो । उहाँले नै सार्वजनिक गरेपछि हिजोको निर्णयमा पुगेका हौं,’ पोखरेलले भने, ‘यसैले राजनीतिमा फर्किन मिल्दैन भन्ने निर्णय गरेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ । सदस्यता स्थगित भएको छ ।’
राष्ट्रपति गणतन्त्रको प्रतीक भएर बस्नुपर्ने भन्दै एमालेको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नदिने निर्णय गरेको थियो ।
भण्डारीको व्यक्तित्वलाई हेरेर गणतन्त्रलाई सुदृढ बनाउने, सबल बनाउने, अभिभावकीय रूपमा बस्ने र गणतन्त्रको प्रतीकलाई सुरक्षित राख्न खोजिएको उनले बताए ।
‘बहालवाला राष्ट्रपति भए मात्रै गणतन्त्र बलियो हुन्छ भन्ने होइन । पूर्व राष्ट्रपतिले पनि गणतन्त्रलाई बलियो बनाउने, लोकतन्त्रलाई बलियो बनाउने र समाजलाई जोड्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, पोखरेलले भने ।