
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबीच ठूलो व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।
यस सम्झौता अन्तर्गत जापानले अमेरिका भित्रिने आफ्ना सामानमा १५ प्रतिशत मात्र कर तिर्नेछ, जुन ट्रम्पले पहिल्यै घोषणा गरेको २५ प्रतिशत करभन्दा कम हो । साथै, जापानले अमेरिकाभित्र ५५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकाका लागि जापान प्रमुख व्यापार साझेदारहरूमध्ये एक हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै भनेका छन्, ‘मैले अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु, सम्भवतः जापानसँगको यो सम्झौता इतिहासकै ठूलो हो ।’
उनी भन्छन्, ‘जापानले अमेरिकी उत्पादनहरू- कार, ट्रक, चामल तथा अन्य कृषि वस्तुहरूका लागि आफ्नो बजार खुला गर्ने सहमति जनाएको छ ।’
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले सम्झौतालाई स्वागत गर्दै भने, ‘अमेरिकासँग व्यापार नाफा भएको मुलुकहरूमध्ये कर छुटको हिसाबले यो अहिलेसम्मकै न्यून दर हो ।’
प्रधानमन्त्री इसिबाका अनुसार यस सम्झौताबाट जापानले अमेरिकी गाडी र अटो पार्ट्समा लगाइएको कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएको छ । यद्यपि यो दर ट्रम्पले गत अप्रिलदेखि जुलाईसम्म अन्य देशहरूमा लागू गरेको १० प्रतिशतभन्दा माथि रहेको बताइएको छ ।
अमेरिकामा जापानका निर्यातको चौंथो हिस्सा अटोमोबाइल क्षेत्रमा आधारित छ, जसले जापानी अर्थतन्त्रको झण्डै ३ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०१९ मा जापानले अमेरिका निर्यात गरेको अटोमोबाइलको मूल्य ४१० अर्ब डलर पुगेको थियो ।
इसिबाले भने, ‘हामी संसारमा पहिलो देश हौं जसले कुनै परिमाण सीमा नराखी गाडी र अटो पार्ट्समा कर घटायौं ।’ तर, सम्झौताले जापानी पक्षका लागि कर छुटको व्यवस्था भने नगरेको उनले स्पष्ट पारे ।
तर, अमेरिकी गाडी उत्पादकहरू भने सन्तुष्ट देखिएका छैनन् । जापानबाट आउने गाडीहरूमा कर छुट दिइँदा पनि क्यानडा र मेक्सिकोस्थित अमेरिकी उत्पादन केन्द्रबाट आउने गाडीहरूमा भने अझै २५ प्रतिशत कर लाग्ने स्थिति रहेको छ ।
फोर्ड, जनरल मोटर्स र स्टेलान्टिस जस्ता ठूला कम्पनीहरूको प्रतिनिधित्व गर्ने अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिलका अध्यक्ष म्याट ब्लन्टले यो सम्झौतालाई ‘खराब सम्झौता’ भन्दै आलोचना गरेका छन्।
केही समयअघि ट्रम्पले जापानलाई पत्र पठाउँदै यदि साउन १७ (अगस्ट १) अगाडि नयाँ सम्झौता नभए २५ प्रतिशत कर लगाइने चेतावनी दिएका थिए । सोही दबाबपछि दुई देशबीच वार्ता अघि बढेको थियो ।
यसैबीच, अमेरिका र फिलिपिन्स तथा इन्डोनेसियासँग पनि नयाँ व्यापार सम्झौता भएको छ । यी देशबाट अमेरिका आउने सामानमा १९ प्रतिशत कर लगाइनेछ । इन्डोनेसियाले अमेरिकी सामानहरूमा लगाइएका ९९ प्रतिशत कर रुकावट हटाउने घोषणा गरेको छ । फिलिपिन्सले भने अमेरिकी गाडीहरूमा लगाइने कर हटाउने सहमति जनाएको छ ।
अक्सफोर्ड इकोनोमिक्सका शिगेतो नागाइका अनुसार, १५ प्रतिशत कर जापानको हालको अवस्थामा सबैभन्दा उत्तम सम्झौता हो ।
उनका अनुसार, अमेरिकी उत्पादनमा जापानले गर्ने लगानीले अमेरिकामा रोजगारी सिर्जना गर्ने र ट्रम्पको उत्पादन वृद्धि अभियानलाई सघाउनेछ ।
विश्व बैंकका अनुसार अमेरिका, चीन र जर्मनीपछि जापान विश्वको चौंथो ठूलो अर्थतन्त्र हो। सम्झौताको समाचार सार्वजनिक भएपछि जापानी सेयर बजारको सूचकांक निक्केई २२५ बुधबार ३ प्रतिशतले बढेको छ । टयोटा, निसान र होन्डाजस्ता कम्पनीका सेयरमा उल्लेखनीय वृद्धि देखिएको छ ।