३० असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

सभापतिको उम्मेदवारबारे सिटौलाको नयाँ प्रस्ताव, रञ्जिताले तोकिन् कार्यवाहक अध्यक्ष

साउन १२, २०८२
काठमाडौं
सभापतिको उम्मेदवारबारे सिटौलाको नयाँ प्रस्ताव, रञ्जिताले तोकिन् कार्यवाहक अध्यक्ष

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारबारे नयाँ प्रस्ताव अगाडि सारेका छन् ।

सात पूर्वपदाधिकारीको तर्फबाट पटक–पटक बैठक बस्दै आएका नेतामध्येका सिटौलाले ७ नेता बाहिरबाट पनि सभापतिको उम्मेदवार प्रस्ताव गर्न सक्ने बताएका हुन् ।

‘परिस्थिति आएपछि निर्णय गर्छौं । हामी ७ मध्येको कोही उठ्छौं, अथवा कसैलाई समर्थन गर्नुपरे हामी मिलेरै  समर्थन गर्छौं । के को आपत्ति छ र, के को हतार छ ?,’ आइतबार पत्रकार सम्मेलन गर्दै सिटौलाले भने, ‘हामी बस्छौं, सल्लाह गर्छौं, सभापतिलाई भन्छौं । के बिग्रेको छ र ? यसले पार्टीलाई फाइदा गर्छ । सभापतिलाई पनि फाइदा हुन्छ ।’
००००
नेपाल विद्युत् प्राधिकरणले चितवनमा लोडसेडिङ नभएको प्रस्ट्याएको छ । प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै चितवनमा लाइन अवरुद्ध हुने समय तालिका मात्रै सार्वजनिक भएको तर लोडसेडिङ नभएको जानकारी दिएको हो ।

लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई लोडसेडिङ तालिकाको नाम दिइएको प्राधिकरणले जनाएको छ ।
००००
यसैबीच चितवनको चनौलीस्थित विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गरिएको छ। नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निदेशक दिर्घायु कुमार श्रेष्ठको निरन्तर खटाइपछि समस्या आइतबार नै समाधान भएको हो।
००००
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये रु १० करोडभन्दा बढी फिर्ता भएको छ । 

भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो ।
००००
साउन मध्य हुनै लाग्दा देशभर धान खेतीयोग्य जमिनमध्ये ७८.८४ प्रतिशत भूभागमा मात्रै धान रोपाइँ भएको छ । त्यसमध्ये पनि मधेशमा आधा मात्रै रोपाइँ भएको छ । सुदूरपश्चिममा भने झण्डै शतप्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि आइतबार सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिई समाधानका लागि पहल लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको छ । 
००००
दिसामा हुने कीटाणु ‘कोलिफार्म’ भेटिएपछि भक्तपुरमा पानी उद्योगको अनुगमन तीव्र पारिएको छ । 
बिक्री वितरणमा प्रतिबन्ध लगाएको चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित पाँच पानी उद्योगले अटेर गरी खानेपानी बिक्री गरेको पाइएपछि नगरपालिकाले आइतबार पाँच उद्योगमा तालाबन्दी गरेको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढङ्गले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्डको निवासमा भएको भेटघाटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाघेको छ । नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को विन्दुमा कायम भएको हो ।
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी छन् ।
श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाउँदै पार्टीको नेतृत्व गर्न असमर्थ भएको जानकारी दिँदै वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको रूपमा तोकिएको जानकारी दिएकी हुन् ।

श्रेष्ठले पोखरा महानगरपालिका–६, कास्की निवासी बास्तोलालाई पत्रमार्फत कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै, आफ्नो अनुपस्थितिमा पार्टी सञ्चालन र निर्णय प्रक्रियालाई नियमित रूपमा अघि बढाउन आग्रह गरेकी छिन् ।
००००
नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थाका सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै तीन बुँदामा प्रश्न उठाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले ‘कुलिङ अफ पिरियड’को विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत छानबिन गर्नुपर्ने भनी प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले यसमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्