३० जेठ २०८३, शनिबार

काठमाडौंसहित ठाउँ ठाउँमा वर्षा, तराईंमा अझै पानी परेन

साउन १२, २०८२
काठमाडौं
काठमाडौंसहित ठाउँ ठाउँमा वर्षा, तराईंमा अझै पानी परेन

आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिए । उनका अनुसार तराईंका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । 

पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, मुगुको गमगढी श्रीनगरमा ४०.८ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षाको नजिक हो । काठमाडौंमा १५ मिलिमिटर आसपासको मध्यम वर्षा भएको छ । गोरखामा पनि पछिल्लो ६ घण्टामा ४१.६ मिलिमिटर वर्षा भएको छ ।

दक्षिण क्षेत्रमा हल्का पानी परेको पनि पर्याप्त वर्षा नभएको उनले बताए । अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उनको भनाइ छ । 

पछिल्लो १२ घण्टामा इलाम, लमजुङ, नुवाकोट र सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भने सिन्धुपाल्चोकको नार्पूगाउँमा १२७.४ र धनकुटाको त्रिवेणी मापन केन्द्रमा ११२.८ मिलिमिटर पानी परेको छ । उक्त अवधिमा काठमाडौँमा ८२.८ र नुवाकोटमा ८६.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाइएको छ । अहिले बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा कोशी प्रदेशको तराई भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्