
आउँदो कात्तिक १७ गते हुने रूपन्देही क्षेत्र नम्बर– ३ को प्रतिनिधिसभा उपनिर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरू तरंगित बनेका छन् ।
फेरिँदो जनमतले कतै रूपन्देही– ३ मा नतिजा उल्टिने त होइन भन्दै नेपाली कांग्रेस र नेकपा एमालेसहित ठूला शक्ति झस्किएका हुन् । उनीहरू नयाँ दल र मधेशी मोर्चाबाट हुने चुनौतीको हिसाबकिताब गरेर रणनीति बनाउन व्यस्त छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समेत यही क्षेत्रमा (पुर्पक्षका लागि भैरहवा कारागारमा) रहेकाले कांग्रेसले ‘घण्टी’ तगारो बनेर आउन सक्ने आकलन गरेको छ ।
यसअघि विजयी राप्रपालाई भन्दा रास्वपालाई कांग्रेस–एमालेले बढी तगारो ठानेको देखिन्छ ।
उपचुनावको वस्तुस्थिति बुझ्न आएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले तीन दिनसम्म विभिन्न गाउँ/ठाउँमा पुगी पार्टीका जिल्ला, प्रदेश र क्षेत्रका नेता, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यसँग छलफल गरी पार्टीमा रिपोर्टिङ गरेका छन् ।
महामन्त्री शर्मा, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन र जिल्ला सभापति रामकृष्ण खाँणले कांग्रेसको प्रतिस्पर्धी रास्वपा र एमाले रहेको ‘बिफ्रिङ’ गरेका छन् । कांग्रेस रुपन्देहीका नेता हरिप्रसाद अर्याल पार्टीका महामन्त्रीसहित नेताहरू उपचुनावको वस्तुस्थिति बुझ्न आएको बताए ।
‘उपचुनावमा पात्रको विषयमा छलफल होइन । अवस्था के छ, रणनीतिक कस्तो हुने, हाम्रा सबल र दुर्बल पक्ष के–के छन्, त्यसबारे सबैसँग राय लिएको हो,’ अर्याल भन्छन्, ‘महामन्त्रीज्यू तीन दिन बसेर सम्भावित रणनीति बुझ्दा समानुपातिक मतको आधारमा चुनाव कांग्रेसले जित्छ भन्ने छ । अहिले चुनावको माहोलमा रास्वपाले हस्ताक्षर अभियान पनि चलाएकाले केही हलचल ल्याउने चर्चा पनि सुनिन्छ । तर, मनोविज्ञान कमजोर बनाएर होइन, बलियो बनाएमा चुनाव हाम्रो पक्षमा आउँछ भन्ने निष्कर्ष हो ।’

यहाँ ३५ वर्षदेखि निरन्तर चुनाव लड्दै आएका कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार बन्ने पहिलो ‘रेस’मा देखिन्छन् । भुटानी शरणार्थी प्रकरणमा सात महिना जेल बसेर छुटेका खाँणको मुद्दा मनोनयन दर्ताअघि अन्तिम किनारा लागेमा उनी उम्मेदवार बन्ने करिब निश्चित छ । मुद्दा नटुंगिएको अवस्थामा बालकृष्ण खाँणभन्दा अन्य व्यक्ति उम्मेदवार बन्दा राम्रो सन्देश जाने र चुनाव जित्न समेत सहज हुने कांग्रेसको एउटा समूहको ठम्याई छ ।
मानव बेचबिखनको गम्भीर ‘दाग’ लागेका खाँण ७ महिना जेल बसेर छुटेपछि गृहजिल्लाको निर्वाचन क्षेत्रमा कार्यकर्तासँग भेटघाट र कार्यक्रममा सहभागी हुँदै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका पूर्व पदाधिकारीले खाँणलाई उपचुनावमा अघि सार्न सुझाव दिएको चर्चा छ ।
कांग्रेसको एउटा समूहले यो क्षेत्र (रुपन्देही– ३)मा एमालेले (२०७९) मा उम्मेदवार नउठाएकाले यसपटक पनि सत्ता साझेदार दलबीच सहकार्य गरेर जाँदा राम्रो हुने तर्क समेत गर्दै आएको छ ।
कांग्रेसका एक नेताले भने, ‘यसअघि कांग्रेस र माओवादी सत्ता साझेदार बन्दा तालमेल भएकै हो । अहिले कांग्रेस–एमालेबीच उपचुनावमा साझेदारी गरेर खाँणलाई सपोर्ट गरेर जाँदा राम्रो हुने देख्छु । त्यसका लागि सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुने सम्भावना पनि उत्तिकै छ ।’
तर, एमाले आफ्नै हिसाबले तयारीमा जुटेको छ ।
कांग्रेसले यसअघि खाँण पराजित हुनुमा उनकै पत्नी मञ्जुलाई समानुपातिकमा राख्नु पनि एउटा कारण रहेको मानेको छ, जसले गर्दा विपक्षीले चुनावी मसला बनाएका थिए । वि.सं. २०४८ देखि रूपन्देहीमा चुनाव लड्दै आएका प्रभावशाली नेता खाँणविरुद्ध भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा विचाराधीन छ । खाँणको ठाउँमा उनका सहोदर भाइ जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणलाई समेत उम्मेदवारको रूपमा अघि सार्न सक्ने चर्चा कार्यकर्ता माझ छ ।
बालकृष्ण खाँण, रामकृष्ण खाँण, यसअघि क्षेत्र नम्बर– ४ र ५ मा पराजित नेताहरू क्रमशः प्रमोद यादव र भरतकुमार शाहको नाम चर्चामा छ । यादवले तराई मूलका भैरहवाबासीको मत धेरै तान्न सक्ने चर्चा पनि भइरहेको छ । साथै, यसअघि प्रदेशसभामा पराजित रामचन्द्र ढकालको पनि सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ । रामकृष्ण, यादव र शाह बालकृष्ण खाँणनिकट नेता हुन् भने ढकाल शेखर कोइराला निकट मानिन्छन् । ढकाल संस्थापनइतर समूहमा भए पनि बालकृष्ण खाँणले समेत रुचाउने नेतामा पर्छन् ।
कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले महामन्त्रीलाई जिल्ला/क्षेत्रका कार्यकर्ताले उपचुनावको माहोल फरक रहेको बताएको जानकारी दिए ।
‘यहाँ मधेशी दलहरूको मोर्चा, रास्वपा र एमाले प्रतिस्पर्धी हुन्,’ पुनले भने, ‘बाहिर हल्ला बढी रास्वपाको देखिन्छ । समानुपातिक मतको आधारमा हामी अघि रहे पनि अवस्था चुनौतीपूर्ण हुन सक्छ भन्ने विश्लेषण हो ।’
उपचुनावका लागि रास्वपाले अनलाइनमार्फत आकांक्षी उम्मेदवारहरूको आवेदन लिइरहेको छ ।
साउन ७ देखि २१ गतेसम्म उम्मेदवार हुन इच्छुक व्यक्तिलाई तोकिएको मापदण्डअनुसार आवेदन दिन भनिएको रास्वपा नेता मधु अर्यालले बताए । शुरूमा आवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारीउपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको उनले बताए ।
अहिले रास्वपाले रुपन्देहीभर पार्टी सभापतिमाथि गरिएको राजनीतिक प्रतिशोधको विरोधमा भन्दै हस्ताक्षर अभियान चलाएको छ । रूपन्देही क्षेत्र नं. ३ मा मात्रै १४ हजार हस्ताक्षर भइसकेको अर्यालले दाबी गरे । रास्वपा प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, क्षेत्रीय सभापति मधु अर्याल, ज्ञानु पौड्याल र डा. योगेन्द्र अग्रहरि पनि उम्मेदवार बन्न इच्छुक देखिन्छन् ।
यता मधेशवादी दलले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार अघि सारेर जाने साझेदारी गरेका छन् । नाउपाबाट धनिराम चौधरी, डा. सरोज सिंह चौधरी, नन्दा थापा चौधरी, विजयसिंह चौधरी र तुलसी चौधरीमध्येबाट एकजना उम्मेदवार बन्ने पार्टीले जनाएको छ ।
एमालेबाट युवा नेता खिमलाल भट्टराई र व्यवसायी शशी पन्थीको चर्चा छ । भट्टराई टोल–टोलमा पुगेर चुनावी माहोल बनाउन जुटिरहेका छन् । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य भट्टराईले चुनाव एमालेले जित्ने दाबी गरे । ‘पार्टीको उम्मेदवार टुंगो लागेको छैन,’ भट्टराईले भने, ‘बाहिर हल्ला धेरै छ । हल्लामा लागेकाहरूले जित्ने संगठनात्मक आधार छैन । बाहिर केही चञ्चल मान्छेहरू नदेखिएका होइनन्, तर त्यसले कुनै अर्थ राख्दैन ।’

राप्रपा रुपन्देहीले ६ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको छ । राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, स्व. दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलिपकुमार मल्लिकको नाम सिफारिस गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै रूपन्देहीमा चुनावी सरगर्मी तीव्र रूपमा बढेको छ । वि.सं. २०७९ सालको निर्वाचनमा रूपन्देही– ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवारी घोषणा र राजनीतिक पार्टीबाट उम्मेदवारका आकांक्षीले जिल्लामा चुनावी सरमर्गी बढाएका हुन् । यो क्षेत्रले केन्द्रीय राजनीतिमा सधैं प्रभावशाली पहिचान बनाएको छ । गएको निर्वाचन (२०७९) मा बोहराले बहालवाला गृहमन्त्री खाँणलाई कुनै चुनावी भाषणविनै २ हजार ६८१ मतान्तरले पराजित गरेका थिए । बोहराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाएका थिए ।
तीन वर्षअघि भएको संसदीय चुनावमा रुपन्देही– ३ मा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत थियो । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार मत ल्याएका थिए ।
लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए । रूपन्देही– ३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । मतदाता नामावली अध्यावधिकसँगै मतदाता १ लाख ५० हजार पुग्ने अनुमान छ ।
यो क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका तथा सियारी र शुद्धोधन गाउँपालिकालाई समेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ यस क्षेत्रमा पर्छन् ।
स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ ।
लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ । यो क्षेत्रमा कांग्रेस र एमालेले राप्रपालाई साथमा लिएर चुनाव लड्दै आएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले २०७४ अघि क्षेत्र निर्धारण गर्नुपूर्व रुपन्देहीमा ७ वटा निर्वाचन क्षेत्र थिए । २०७४ मा निर्वाचन क्षेत्र पुनर्संरचना भएर ५ वटा क्षेत्र बनेपछि रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ३ को नयाँ भूगोल कायम भएको हो ।
आजभन्दा ३२ वर्षअघि २०४८ सालमा यो भूगोलबाट कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेका थिए । त्यसपछि २०५१ को मध्यावधि निर्वाचनमा एमालेका धनपति उपाध्यायले चुनाव जिते । एमालेका उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए । फेरि २०५६ सालमा कांग्रेसका ताम्राकारले जीत हासिल गरे ।
२०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि अहिले क्षेत्र नम्बर ३ मा नै पर्ने तत्कालीन क्षेत्र नम्बर २ बाट बोहरा र क्षेत्र नम्बर ३ बाट खाँण विजयी भए । खाँणले एमालेका लीला गिरीलाई पराजित गरेका थिए ।
२०७४ सालमा कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र सहकार्य गरेर चुनाव लडेका थिए । २०७९ सालमा दीपक बोहरा राप्रपाबाट एमालेको साथ पाउँदै विजयी हुँदा कांग्रेसका बालकृष्ण खाँण दोस्रो भएका थिए ।