
नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले भूमि र शिक्षासम्बन्धी विधेयकमा नेपाली कांग्रेसले देखाएको भूमिका लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले उक्त विधेयकमाथि कांग्रेसको दोहोरो चरित्र तल्लो स्तरको राजनीतिक दाउपेच भएको बताएका हुन् । ‘नेपाली कांग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरू माथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक दाउपेचजस्तो लाग्यो, संयन्त्रमा एउटा कुरा, बाहिर आएपछि अर्को ? सत्ता साझेदारी गरिरहेको दलको यो व्यवहार लोकतन्त्रमा कति उचित हो ? मूल्यांकनको विषय हो,’ उनले लेखेका छन् ।
विधेयकका संवेदनशील विषयमा कांग्रेसले भ्रमपूर्ण र अविश्वसनीय भूमिका खेलेको उनको आरोप छ ।
संसद्मा छलफल हुँदै गरेका शिक्षा विधेयक र भूमिसम्बन्धी विधेयकमा सरकारभित्र रहेका दलहरूबीच भित्री सहमति र बाहिरी व्यवहारमा देखिएको असमझदारीप्रति डा. भट्टराईले गम्भीर प्रश्न उठाएका छन् ।
नेपाली कांग्रेस हाल सरकारको प्रमुख घटक दल हो । तर, पार्टीका सांसदहरूले शिक्षा विधेयकको सन्दर्भमा विभिन्न धाराहरूमा आफू अनुकूल परिमार्जन माग गर्दै आएका छन् । भूमिसम्बन्धी विधेयकका हकमा पनि कांग्रेसभित्रबाट फरक मत देखिएको छ।
डा. भट्टराईले सरकारभित्र नीति र कानून निर्माणका विषयमा स्पष्ट दृष्टिकोण नदेखिएको र जनताका हितसँग प्रत्यक्ष सरोकार राख्ने विधेयकहरूमा राजनीतिक स्वार्थअनुसार दोहोरो भूमिका खेल्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन् ।
भूमिसम्बन्धी विधेयकमा कांग्रेसको ‘अनिर्णीत भूमिका’प्रति एमालेकाे असन्तुष्टि छ ।