
मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको मोर्चा, संघीय लोकतान्त्रिक मोर्चाले देशका प्रमुख आठ शहरमा कार्यक्रम गर्ने भएको छ ।
सोमबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको केन्द्रीय मुल समितिको बैठकले कार्यक्रमको समन्वयका लागि पार्टीहरूको जिम्मेवारी पनि तय गरेको छ ।
जस अनुसार यही साउन १८ गते काठमाडौंमा हुने कार्यक्रमको समन्वय मोर्चाले संयुक्त रूपमा गर्नेछ भने साउन २१ गते भैरहवामा हुने कार्यक्रमको समन्वय नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गर्नेछ ।
यसैगरी, साउन २३ गते नेपालगञ्जमा हुने कार्यक्रमको समन्वय कुन पार्टीले गर्ने भने टुंगिन बाँकी छ भने साउन २५ गते कैलालीमा हुने कार्यक्रमको समन्वय नाउपाले गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी, भदौ १६ गते विराटनगरमा हुने कार्यक्रमको समन्वय जसपा नेपाल, भदौ १८ गते राजविराजमा हुने कार्यक्रमको समन्वय राष्ट्रिय मुक्ति पार्टी नेपाल, भदौ २० मा जनकपुरमा तमलोपा र भदौ २२ गते वीरगञ्जमा लोसपा नेपालले समन्वय गर्ने तय भएको छ ।
अधिकार र पहिचान पक्षधर पार्टीसँग मोर्चाको सहकार्य गर्ने नीति अन्तर्गत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीलाई पहिलो चरणमा संवाद गर्ने निर्णय समेत गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।
बैठकले सुक्खा संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटका साथै तत्काल खानेपानीको व्यवस्था र सिँचाइका बोरिङको बोरिङको व्यवस्था गर्न भनेको छ ।
यसका साथै दीर्घकालीन रूपमा यस्तो संकटबाट जोगाउन चुरे वन क्षेत्रको संरक्षण र जलाशय निर्माणका साथै पर्यावरण संकटबाट तराई मधेशका जनतालाई जोगाउन ठोस उपाय खोज्नुपर्ने मोर्चाको भनाइ छ ।
‘उक्त सुक्खाग्रस्त क्षेत्रका किसानहरूको आगामी फसलका लागि कृषि ऋण, मलखाद, सिँचाइ, बिउबिजन, किटनासक औषधि उपलब्ध गराउनु पर्दछ र यस क्षेत्रमा किसानहरूलाई उपरोक्त सामग्रीसहित विशेष सहुलियत स्वरूप अनुदान पनि उपलब्ध गराउनु पर्दछ’ बैठकको निर्णयमा भनिएको छ ।
