
संघीय लोकतान्त्रिक मोर्चाको आइतबार बसेको बैठकले ३ बुँदे निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा)नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकले विभिन्न कार्यक्रमको समन्वय, राजनीतिक संवाद र तराई–मधेशको कृषिमा देखिएको संकट समाधानबारे महत्वपूर्ण निर्णयहरू गरेको हो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले यसअघि मोर्चाले तय गरेका कार्यक्रमहरूलाई सफल बनाउन विभिन्न दलबीच समन्वय गर्ने निर्णय गरेको छ ।
त्यस्तै, अधिकार र पहिचान पक्षधर दलहरूसँग सहकार्य गर्ने नीतिअनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीसँग संवादको प्रक्रिया सुरु गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले तराई–मधेशका जिल्लाहरूमा वर्षा नहुँदा धान खेती गर्न नसकेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै किसानहरूका लागि तत्कालीन राहत र दीर्घकालीन समाधानको माग गरेको छ ।
मोर्चाले कृषि ऋणमा छुट, खानेपानीको आपूर्ति, डिपवेल र बोरिङ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
साथै चुरे संरक्षण, जलाशय निर्माण र पर्यावरणीय संकट न्यूनीकरणमार्फत दीर्घकालीन समाधान खोजिनुपर्ने माग गरिएको छ ।
तराई–मधेशका किसानहरूका लागि बिउबिजन, मलखाद, किटनासक औषधि लगायतका सामग्रीहरू सहुलियत दरमा उपलब्ध गराई अनुदानसमेत दिनुपर्ने मोर्चाको माग छ ।
