
चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालको सिन्धुलीको मारिण–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
गत मंसीरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौताको कार्यान्वयनस्वरूप उद्योग विभागबाट सो स्वीकृति प्राप्त भएको हो । उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैंसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको लगायत) उत्पादन गर्नेछ ।
उद्योग सञ्चालनमा आएपछि पाँच हजार एक सय ५६ जनालाई प्रत्यक्ष रोजगारी मिल्नेछ भने वार्षिक झण्डै डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात गरिनेछ ।
प्रधानमन्त्री ओलीले यो लगानी नेपाली कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनाका दृष्टिले महत्त्वपूर्ण हुने बताएका छन् । सरकारले चीनमा ढेढ खर्बको मासु निर्यात गर्ने लक्षय लिएको ओलीको भनाइ छ ।